राजविराज, ६ फागुन । सिर्जना फाइनान्स लिमिटेडले सप्तरी जिल्लाको साबिक फत्तेपुर गाविस हाल सप्तकोशी नगरपालिका वडा नम्वर–१ मा आफ्नो १०औं शाखा कार्यालय शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।
स्थानीय समाजसेवी तथा ज्येष्ठ नागरिक गोविन्द बहादुर बस्नेले एक समारोहका बिच सप्तकोशी शाखाको समुद्घाटन गरे । उदयपुर जिल्लाको दक्षिणी पूर्बी भेगका ग्रामिण जनताका साथै सप्तरी जिल्लाको उत्तर पूर्बी भेगका जनतालाई सरल र सहज बैंकिङ्ग सेवा दिनकालागि सिर्जना फाइनान्सले सप्तकोशी नगरपालिकामा शाखा सञ्चालन गरेको हो । एक महिनाभित्र सप्तरी जिल्लाको पातो र बोदेवर्साइनमा शाखा बिस्तार गरी सप्तरी जिल्ला भित्र सातबटा र आफ्नो कार्य क्षेत्रमा २० ओटा शाखा सञ्चालनमा ल्याउने तयारी अबस्थामा रहेको अध्यक्ष सुयश प्याकुरेलले बताए । सिर्जनाले आफ्ना ग्राहकलाई एटिएम, मोबाईल बैकिंङ्ग, ईन्टरनेट बैकिंङ्ग लगायत अत्याधुनिक बैकिङ्ग सेवाहरु उपलव्ध गराउँदै नेपालकोे अग्रणी संस्था बनाउने उद्देश्य लिएको कुरा अध्यक्षले जानकारी दिए ।
कुल ६० हजार ग्राहकलाई सेवा दिदै आएको सिर्जना फाईनान्सले २०७३ फागुन ५ गतेसम्म दुई अर्व चौसठ्ठी करोड निक्षेप संकलन गरी दुई अर्ब पचपन्नकरोड कर्जा लगानी गरेको छ भने खुद मुनाफा दश करोड दश लाख गरेको कुरा कार्यकारी प्रमुख भवानी शंकर चापागाञीले बताए । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट आर्थिक वर्ष ०७३÷७४ सूचिकृत कम्पनीलाई बर्गीकरण गर्दा बित्त समूहबाट सिर्जना फाईनान्स लिमिटेड ‘क’ वर्गमा परेको छ ।