• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जुस खाएर आन्दोलनकारीहरुले तोडे आमरण अनशन

धनुषा, ६ फागुन । विभिन्न ७ बुँदे माग राखेर विगत दुई सातादेखि जनकपुरको जनक चौकमा आमरणमा रहेका अनशनकारीहरुले शुक्रवार तोडेका छन् ।
नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अनशनकारीको मागहरु सम्वोधन गर्न प्रतिवद्धता जनाएपछि अनसन तोडिएको छ । आधुनिक जनकपुरको निर्माण, जनकपुर अञ्चल अस्पताललाई पाँच सय शैय्या तथा शिक्षण अस्पताल घोषणा गर्ने, प्रस्तावित राजर्षि जनक विश्व विद्यालयको ऐन पारित गरी भवन निर्माण प्रक्रिया अघि बढाउने, जनकपुर विमानस्थललाई क्षेत्रीय रुपमा विस्तार गर्ने, जनकपुर क्षेत्रमा मनिपाल युनिभर्सिटको एक सय विघा जग्गा उपलब्ध रहेको अवस्थामा पोखरामा निर्माण भईरहेकोले तत्काल उक्त कलेज जनकपुरमै राखिनुपर्नेलगायतका मागहरु अनशनकारीहरुले राखेका थिए ।
सरकारका सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि रहेको ७ सदस्यीय सम्झौता कार्यान्वयन समिति तीनदिन भित्र गठन हुने जनाईएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा, नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं. २ का प्रस्तावित सह–संयोजक कलामुद्दिन राईन र युवा मिथिलेश्वर दासले जुस खाएर अनशन तोडेका छन् ।
यसैबीच स्वास्थ्य अवस्थाको दृष्टिकोणले आमरण अनशनकारीहरुलाई जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको जनाईएको छ ।