वीरगञ्ज ४ फागुन । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सदस्यता सम्बन्धि विवादलाई समाधान नगरीकन पत्रकार महासंघको निर्वाचन हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगंजमा आयोजित प्रेस युनियनका सदस्यहरुको विशेष भेला तथा अन्तरक्रियालाई सम्बोधन गर्दै महासचिव शिवाकोटीले जिल्ला जिल्लामा महासंघ कब्जा गर्ने रणनीतिमा प्रेस चौतारी लागेको हुँदा एकलौटी रुपमा चौतारीको दबावमा महासंघमा थपिएको सदस्यता खारेज नभई निर्वाचनमा प्रेस युनियन नजाने चेतावनी समेत दिए । उनले प्रजातन्त्रवादी पत्रकारहरु एक भएर महासंघको चुनावमा आपसी मतभेद र कटुतालाई त्यागेर एक भएर निर्वाचनमा जुट्न युनियनका सदस्यहरुलाई आग्रह गरे । प्रजातन्त्र र लोकतन्त्रको संस्थागत विकासका लागि युनियनको महत्वपूर्ण योगदान रहेको बताउँदै यस पटकको महासंघको निर्वाचनमा युनियन एकजुट भएर नगए त्यसको परिणाम उल्टो निस्कने समेत बताए ।
नेपाल प्रेस युनियन पर्सा शाखाका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, प्रेस युनियन पर्साका पूर्व अध्यक्षहरु पुरुषोत्तम सिंह भट्टराई, रामराज्य यादव, काशीनाथ यादव, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्षद्वय अशोक तिवारी, दिपेन्द्र चौहान लगायत युनियनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।