Top_Header_Right_Add

अझैं सुकेको छैन सहीद परिवारको आँसु

अझैं सुकेको छैन सहीद परिवारको आँसु

श्यामसुन्दर यादव/राजविराज । चाडपर्वका बेला आफ्ना छोरा नागेश्वरलाई नदेख्दा सप्तरीको जमुनीमधेपुरा वडा नम्वर–९ लक्ष्मीपुरकी सिकिल देवी यादव एकान्त कुनामा बसेर रुने गर्छिन् ।
तेस्रो मधेश आन्दोलनमा आफ्ना छोरा गुमाएको झण्डै चौध महिना भएको छ तर उनको आँखाको आँसु अहिले पनि सुकेको छैन । रुपनीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराउने कार्यक्रममा २०७२ मंसिर ५ गते सिकिलदेवीका छोरा नागेश्वरको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । चाडपर्वका बेला उनलाई छोराको यादले घरीघरी सताउने गर्छन् । उनी कसैलाई थाहा नदिएर एकान्तमा बसेर धुरुधुरु रुने गरेको परिवारजनको भनाई छ ।
शनिवार साँझ ४.३० बजे घरको काम सकाएर नागेश्वर घरबाट निस्केर राजविराज पुगे । त्यसैक्रममा उनका दाजु जुगेश्वरले फोन गरेर नागेश्वरलाई भने ‘तिमी रुपनी नजाउ, त्यहाँको अवस्था तनावग्रस्त हुन सक्छ ।’ तर नागेश्वरले दाजुलाई जवाफ दिए ‘दाइ, एकैछिनमा म आइहाल्छु चिन्ता नगर्नु, गाउँका अरु धेरै जना राजमार्ग घेर्न रुपनी पुगेका छन् ।’ यता आमा सिकिल देवीले समेत छोरा नागेश्वरलाई आन्दोलनमा नजानु भनेर रोक्न खोजे तर उनले मानेनन् । ‘आमा, चिन्ता नलिनुस्, भैंसीकोलागि परालको कुट्टी काटेर राखिदिएको छ, म आएपछि अरु काट्छु’ भन्दै नागेश्वर घरबाट विदा भए ।
उनी राजविराज हुँदै रुपनीतर्फ आन्दोलनमा हुइँकिए । दैवको लिला राती करिब ११ बजेको समयमा सशस्त्र र नेपाल प्रहरीको टोली राजमार्गबाट आन्दोलनकारीहरुलाई हटाउन लाठीजार्ज, अश्रँृग्यास हुँदै गोलीसम्म चलाए । त्यो दिन गाउँगाउँबाट हज्जारौंको संख्यामा सर्वसाधारण जनता आन्दोलनमा सहभागी भएका कारण धेरैबेरसम्म उनीहरुले राजमार्ग कब्जामा लिईरहे । व्यापक जनमानसका कारण टस नमसको अवस्था थियो ।
आन्दोलकारीहरु राजमार्गबाट हट्न नमानेपछि आक्रामक रुपमा प्रस्तुत भएका प्रहरीले चलाएको गोली नागेश्वरको तिघ्रामा लाग्यो । उनी तत्क्षण मैदानमै ढले । तर उनले हिम्मत हारेन । प्रहरीले भटटट गोली चलाईरहेको र आफ्ना सहकर्मी गोली लागेर ढलेको देखेपछि भीँड तितर–बितर भयो । सोही क्रममा प्रहरीले चलाएको गोली भुवनेश्वर मण्डल बेलचनको पेटमा गोली लागेको देखेपछि नागेश्वरले बचाउन खोजे । तर उनलाई बचाउन खोज्दा प्रहरीले निर्ममतापूर्वक नागेश्वरलाई प्रहरीले बुटले हिर्काउँदै परसम्म घिसारेर लगेको आन्दोलनकारी सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवको भनाई छ । उनका अनुसार घाइते नागेश्वरलाई तत्काल उपचारका लागि लगिएको भए बाँच्ने अवस्था थियो । आफू नबाँचे पनि आफ्ना आन्दोलनकारी साथी बेलचनलाई बँचाउन सफल योद्धा नागेश्वर हाँस्दै मधेशमुक्तिको आन्दोलनमा बलिदानी दिए । (तस्विर हेर्नुहोस)
राती करिब १२ः१५ बजेको समयमा गाउँकै मान्छेहरुले भाइ नागेश्वर गोली लागेर घाइते भएको कुरा जुगेश्वरलाई सुनाए । उनी तुरुन्तै राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको आकस्मिक कक्ष पुगे । त्यहाँ नागेश्वरलाई बेडमा राखिएको अवस्थामा देखे । उनी भाइसँग कुरा गर्न खोजे तर स्थिर अवस्थामा रहेका नागेश्वरको मुखबाट बोली निस्केन । भाइको अवस्था बुझ्न अस्पताल पुगेका जुगेश्वर बेहोस भए ।
मंसिर ६ गते विहान जाहेरी दिन जिल्ला प्रहरी कार्यालय जाँदा नागेश्वरको पोष्टमार्टम यही गराउन प्रहरीले भन्यो । तर मधेशी मोर्चाको सहयोगमा पोष्टमार्टमका लागि उनीसहित अन्य शव समेत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो ।
यता सप्तरीकै झल्ही(फर्सैठमा माइतीमा रहेकी जिवनसङ्गिनी सुषमालाई घटनाको विषयमा केही थाहा थिएन । राती करिब २ बजेको समयमा पति नागेश्वर आन्दोलनका क्रममा घाइते भएर अस्पतालमा उपचार गराइरहेको भनी उनलाई जानकारी दिईयो । विहान हस्पिटल जाँदा पतिलाई यस्तो अवस्थामा देखेपछि बिलौना गर्दै बेहोस भइन् ।
सत्यलाई स्वीकार गर्नैपर्दछ । नागेश्वर मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेको कुरा विभिन्न सञ्चारमाध्यमहरुबाट समाचार प्रवाह भयो । दुई दिन अघिमात्र सुषमा र नागेश्वर बीच फोनमा कुरा भएका थियो । सुत्केरी भएर माइतमै रहेकी सुषमा र दुई लालाबालामाथि बज्रपात नै भएको छ ।
२०६८ फाल्गुन २९ गते वैवाहिक बन्धनमा बाँधिएकी २२ वर्षिया सुषमाको बोली अहिलेसम्म खुलेको छैन । उनीसँग कुनै कुरा सोध्दा खुलस्त बोल्न सक्दैनन् । एकहोरिएर बसिरहने तथा पतिको विषयमा कसैले चर्चा गर्दा उनको आँखाबाट आँसु टिलपिलाउन थाल्छ । मनको अथाह पीडा समेत पोख्न सकिरहेकी छैनन् उनले । छोरी साक्षी साढे तीन वर्षकी छिन् भने छोरा केसी यादव डेढ वर्षको । राजविराज स्थित छिन्नमस्ता उच्च माध्यमिक विद्यालयमा आइएड उतीर्ण गरी बिएड अध्ययनरत सुषमाको भविष्य अन्यौलग्रस्त बन्न पुगेको छ ।
आमा सिकिलदेवी बुहारी र नाती नातीनाको अवस्था देखेर चिन्तित रहने गर्छिन् । उनी भन्छिन् ‘छोरा नागेश्वर भईदिएको भए आज यस्तो दिन देख्नुपर्ने थिएन, उनीहरुको भविष्यकालागि नेताहरुले सोचिदिएको भए केही राहत हुने थियो । पढेलेखेकी बुहारी सुषमालाई गाउँकै विद्यालयमा राखिदिने कुरा चले पनि हालसम्म कसैले ध्यान नदिएको उनले बताईन् । ‘गाउँकै विद्यालयमा काम पाएको भए छोराछोरी हुर्काउन र काममा समय बित्ने थियो, सिकिलदेवीले थपिन् ‘बुहारी र नातीनातिनाको भविष्यको चिन्ताले सताईरहन्छ ।’ यतिका दिनसम्म आन्दोलन चल्दा पनि मधेशीको माग पुरा नभएकोमा सरकारप्रति उनको असन्तुष्टि छ । यति धेरै छोराहरुको सहादत हुँदा पनि सरकार गम्भीर नुहुनुले मधेश र मधेशी जनतामाथि क्रुर विभेद गरिरहेको उनको बुझाई छ ।
नागेश्वरका बुवा जिबछको गत चैत्रमा निधन भएको थियो । चार दाजुभाइमध्ये जुगेश्वर, बालेश्वर, र सन्तोषमध्ये नागेश्वर काइँलो थिए । भाव विह्वल दाजु जुगेश्वर भन्छन् ‘भाइलाई प्रोफेसर बनाउने सोच थियो तर सबै चकनाचुर भइदियो । भाइबुहारी र बच्चाबच्चीको अवस्था देखेर दाजुभाइहरु समेत चिन्तित छन् । कानूनी रुपले अंशबण्डा नगरे पनि चारैभाइ छुिट्टएर बस्दैआएका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer