Top_Header_Right_Add

जेलबाट तत्कालीन जनमुक्ति सेना कमाण्डर अनिलको बृतान्तः ‘न म ओर्लिन्थे गाडीबाट न हुन्थ्यो मधेश आन्दोलन’

जेलबाट तत्कालीन जनमुक्ति सेना कमाण्डर अनिलको बृतान्तः ‘न म ओर्लिन्थे गाडीबाट न हुन्थ्यो मधेश आन्दोलन’

अरूण कुमार साह (अनिल)
दिनको झल्को विहानीले दिन्छ । कहिलेकाही अप्रत्यासित घटना संकेतमा खराब देखिए पनि परिणाममा फलदायी हुन्छन् । त्यसैको परिणाम हो मधेश आन्दोलन । जुन कुरा कसैले पनि चिताएका थिएन् । मधेश आन्दोलनको विजारोपन हुँदै गर्दा त्यसले अर्कै भाव र धारको प्रतिनिधित्व गरिरहेको भान हुन्थ्यो । अर्थात मुलुकमा सदियौंदेखि उत्पीडनको जाँतोंमा पिल्सिदैआएका मधेशी जनता काला र गोरा (मधेशी पहाडी) बीचको विभेद सतहमा देखिन्थ्यो । त्यो स्वभाविक र सत्य कुरा थियो । तर, संघर्षले साँच्चिकै कुनै पनि कुरा असम्भव छैन् भन्ने कुराको प्रमाणित गर्यो ।
२३७ वर्षे निरंकुश राजतन्त्रको अन्त्य पश्चात मुलुकमा छाएको स्वतन्त्रताले जन अपेक्षा सोंचे भन्दा फरक थियो । आज मधेश आन्दोलनको १०औं वर्ष वितिसक्दा पनि मधेशी जनताको मुक्ति र स्वतन्त्रताको कुरा फेरी किन उठ्दैछन् ? के मधेशी जनताले संघर्षबाट अवसर नपाएको हो ? त्यसैले एकै पटक अपेक्षित सपना पुरा गर्न कसैले सक्दैन् । १० वर्ष सम्म माओवादी पार्टी हिंसाको राजनीति गरिरहँदा आज माओवादी आन्दोलन कुन ठाउँमा छन् ? सबैले मूल्यांकन गर्नु पर्ने विषय हो । विगतमा एमाले काँग्रेसले पनि संघर्ष पश्चात विलय भएको इतिहास मरेको छैन । त्यसैले वर्ग संघर्ष गम्भीर विषय हो । संघर्ष र परिणाम पनि फरक अभिलेख हुन् । अवस्था अनुसारको संघर्ष र संघर्ष अनुसारको परिणामको निर्धारण हुन्छन् । त्यसैले यसको भागेदार जनता भन्दा नेतृत्वको काँधमा सुम्पिएको हुन्छ ।
नेतृत्व भनेको निर्नायक शक्ति हो । आज मधेशी जनता नेतृत्वकै कारण परिणाम गुणात्मक सफलता नपाए पनि पहिचानमा भन्ने गुणात्मक सफलता पाएका हुन् । फेरी पहिचान प्राप्ति नै होइन भन्न खोजेको होइन । यसको प्रमुख दोषी फेरी नेतृत्वमा नै जान्छ । यो सब कुरा नेतृत्वमा भरपर्ने कुरा हो । सरकार त दोषी छँदैछ । तर, कतै न कतै हामी पनि दोषी छौं भन्ने कुराको महसुस गर्न जरूरी छ । राज्यको विभेदपूर्ण चरित्र ढाल्न र जन उतरदायी बनाउन नेतृत्व र जनताको अहम् भूमिका हुन्छ । जसबाट हामी चुक्दैआएका छांै ।
मलाई अझैं झझल्को छ २०६३ माघ ५ गतेको । जसले मधेश आन्दोलनको विजारोपन गर्यो लहानमा । मलाई दोषी ठान्नु वा उर्जा । पछुतो छैन् । त्यो बुझाईमा भरपर्ने कुरा हो । म त्यतिखेर अञ्जानको पात्र हुँ । मलाई यो पनि थाहा छ । हाम्रो तत्कालिन नेकपा (माओवादी) पार्टीले संगठित तरिकाले उठाएको संघीय प्रदेशको मुद्दा कारणवस २०६३ माघ १ गतेको अन्तरिम संविधान जारी गर्दा अडानमा चुकेको थियो । जुन मुदा मुलुकको समग्र उत्पीडित वर्ग, समुदाय र क्षेत्रकालागि प्रमुख मुदा नै थियो । तत्कालीन सरकारको त्यो विभेदपूर्ण निर्णयको शिरोधार मधेशी जनताले गर्न सकेन । र, माघ २ गते मधेशी जनताका साहसी अगुवा राजनीतिक पात्रहरू उपेन्द्र यादव, रामेश्वर राय यादव, निलम वर्मा, विपी यादव लगायतकाले काठमाण्डौंमा ज्ञापन पत्र पुझायो ।
माघ ३ गते अन्तरिम संविधान जलाउँदा तत्कालिन सरकारले उनीहरूलाई जेलमा हाल्ने खेल गर्यो । परिणामतः तराई मधेशको स्थिती एकाएक फेरियो । संघीय प्रदेश, समग्र मधेश एक प्रदेश, राज्यको पुनरसंरचना, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तथा समान प्रतिनिधित्वको सवाल, पूर्णसमानुपातिक समावेशीताका विषयहरू रोडमा चर्को रूपमा उठ्न थाल्यो । जुन माओवादीकै एजेन्डा तत्कालिन उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले पक्कड स्थापित गर्यो । हाम्रो योगदान संघर्ष तत्कालिन पार्टीको विश्वासको रूपमा थियो । भनेकै कुरामा अडिग थियांै । किनभने आमूल परिवर्तन पार्टीको मुख्य उद्देश्य थियो ।
सम्पूर्ण उत्पीडित वर्ग जाती, समुदाय र क्षेत्रको मुक्ति नै हाम्रो मुख्य लवज थियो । तर, अन्तरिम संविधान जारी हुँदा र संघीयता लगायतका विषय उलेख नहुँदा हामीमा पनि कताकता मनमा निराशा, तिक्तता र कुण्ठा पलाएको थियो । तर, भूमिगत जगतबाट बाह्य सतहमा आएको एक पार्टीको इमानदार सदस्यको नाताले विश्वास र शंका प्रमुख कुरा थिएन । त्यसमा पनि म जनमुक्ति सेनाको एक कुशल मधेशी सिनियर कमाण्डर पात्र थिए । पटक–पटकको युद्ध मोर्चामा घाइते हुँदा मेरो मानसिक सन्तुलन समेत गुमेको अवस्था थियो । शरिर र मष्तिक भरी बमका छर्राहरू अझैं पनि ताजै छ । लहान घटना हुँदा म त्यतिखेर मधेशी बटालियन फोर्सको कमाण्डर थिएँ । मानसिक असन्तुलनका कारण बटालियनको सारा जिम्मेवार मेरो सहायक कमाण्डर ज्ञानेन्द्र बहादुर गुरुङ्ग (कसम)ले नै फूली कमाण्ड समालेका थिए ।
शान्ति प्रकृयाको क्रममा पार्टी केन्द्रले २०६३ माघ ५ गते चितवनमा अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । त्यही दिन यता मधेशमा आगो बल्ने दिनको संकेत दिदै थियो । प्रशिक्षणको कुरा मलाई ४ गते मात्र अबेरसम्म खबर भएको थियो । सूचना प्रविधिको अवस्था अहिलेको जस्तो थिएन । सप्तरी जिल्लाका सिनियर नेता अशोक मण्डल (अमर ) हाल सप्तरी २ नम्वर क्षेत्रका निर्वाचित सांसद तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुन् । हामीसँगै ५ गते विहानै एउटै बाइकमा प्रशिक्षण कार्यक्रम चितवनतिर जाने सल्लाह भयो । भोली विहानै हामी रूपनी बजारबाट हिँड्यौ पनि । तर, सप्तरीको कल्याणपुर बजार नपुग्दै अमर दाइको मोवाईलमा फोन आयो र हामी रिटर्न भयौं रूपनीतिरै ।
रूपनी पुग्दा मात्र थाहा भयो पूर्वबाट एउटा बस र बोलेरोमा साथीहरू आउँदैछन् । त्यही गाडीमा चितवन सँगै जानुपर्ने भयो । हामी बाइक रूपनीबजारमै राख्यौं र हिंड्यौं । रूपनी बजारमा पनि नाराबाजी भैरहेको थियो । तर, हामीसँगै पहिला माओवादी पार्टीमा काम गर्ने नजिककै साथी सुरेन्द्र प्रसाद साह रहेकाले सकारात्मकै तरिकाले हाम्रो गाडी अगाडि बढ्यो । आन्दोलनरत पक्षबाट त्यस्तो कुनै अप्रियता भएन । जव त्यहाँबाट हामी लहानको हस्पिटल चौकमा आईपुग्यौ अनि लहानको स्थिती आन्दोलनमय रहेको खबर पायौँ । हस्पिटल चौकमा एक जना चिनेकै कन्टक्टर दाइ रहेकाले त्यहाँ हाम्रो कुरा मिल्यो । त्यस्तो अभद्रता भएन् । हामी आफ्नो प्रशिक्षणको जानकारी गराएरै लहान चौकतिर अघि सर्यौं । हाल लहानको शहिद चौक पुगनासाथ आन्दोलनरत पक्षका युवा साथीहरूले एक्कासी हाम्रो गाडी रोक्यो ।
मलाई थाहा छ त्यहाँ एक जना चिनेकै साथी धनेश्वर यादव पनि हुनुहुन्थ्यो । तत्कालिन जनमोर्चाका निर्मल बराले युद्धकालमै लहान बस्दा पार्टीको स्टाम्प बनाउनमा सहयोग गर्नु भएको थियो । त्यतिबेलै हात काटिएको धनेश्वरसँग चिनाजानी भएको थियो । उहासँग हाम्रो प्रशिक्षण कार्यक्रम चितवन जानुपर्ने भएकोले हाम्रो गाडी जान दिन आग्रह गर्दैथियौं । त्यतिबेलै केही युवाहरूले हामीलाई ‘गाडीबाट ओर्ल’ भन्दै पहाडी, मधेशी लगायतका अपशब्द प्रयोग गरिरहेका थिए । त्यसैवेला म वहाँहरूलाई सम्झाउन गाडीबाट ओर्लें । मसँग तत्कालिन जनमुक्ति सेनाका व्रिगेडियर हाल नेपाली सेनाका प्रमुख सेनानी बासुदेव घिमिरे (पावेल) दाइ पनि हुनु हुन्थ्यो ।
आन्दोलनकारी युवाहरूलाई पहाडी मधेशीको कुरा गर्नु भन्दा सही कुराकालागि हामी सँगै लडौं । हाम्रो प्रशिक्षण चितवनमा छ हामीले पनि कुरा उठाउँछौ मात्र के भनेका थिए त्यतिकैमा ‘पहाडीका दलाल’ भन्दै ममाथि सबै जाई लाग्यो । निर्ममतापूर्वक ममाथि हातपात भयो । म युद्धको गम्भीर घाइते र अचेत मान्छे स्पोटमै मुर्छित भए । त्यसैबेला मेरो मुर्छित अवस्था देखेर सियाराम ठाकुरको हातमा रहेको मौजर(अत्याधुनिक हतियार) हुलमा प्रहार भयो र रमेश महतोको मृत्यू भयो । हामी चढेको गाडी त्यसपछि दनदनी बल्यो । र, हामीसँग रहेको एक बोलेरो गाडीमा अग्रज नेताहरू तथा अहिलेका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की (राम कार्की ) लगायत उहाँहरू चढेको बोलेरो गाडी आक्रमणबाट ब्याक भएर सुरक्षित हुन सफल भयो ।
रमेश महतोमाथीको गोली प्रहारले आगोमाथी घ्यू थप्यो र लहान बजार आगोसरी दनदनी बल्न थाल्यो । दर्जनौ गाडीमा आगजनी भयो । टायर बाल्नेदेखि पहाडी विरोधी नारावाजीले लहान बजार सम्प्रदायिकतामै फेरियो । मैले त पत्तै पाइन । तत्कालिन सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजका एसएसपी विज्ञानराज शर्मा, सिरहा जिल्लाका एसपी भोग बहादुर थापा र ईलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर लक्ष्मण गिरीको बचावटमा प्रमुख भूमिका रह्यो । जसले थप क्षति हुनबाट जोगायो । मलाई लहान थानामा राखेको थियो । आन्दोलनकारीहरूले मलाई मार्न प्रहरी चौकीमाथी पटक–पटक आँधीसरी आक्रमण गरी रहेका थिए ।
बेलुका मलाई कडा सुरक्षाको बीच रातारात विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारकालागी प्रहरीले लग्यो । केही दिन त्यही उपचारमा भर्ना भएँ । मेरो स्वास्थ्य स्थिती सुधारमा आयो ।
यता लहान बजारमा रमेश महतोको लाश राखेर लहान दनदनी बलिरहेको खबर पाईरहेका थियौं । यता तराईमा शसस्त्र गतिविधि गरिरहेका जयकृष्ण गोइत र नागेन्द्र पासवान (ज्वाला सिंह) नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताहरू पनि आन्दोलनमा सरिक थिए । संघर्षको उत्कर्षले अब इतिहासमा मधेशी जनता फेरी आन्दोलन र रगत बगाउनु पर्दैन लाग्थ्यो । मधेश मुक्तिकालागि ५५ जनाले शहादत प्राप्त गरिसकेका थिए । सयौंको संख्यामा मधेशी समुदाय घाईते अपाङ्गको पंक्तिमा उभिसकेका थिए । व्यापक संघर्षको १९ दिनमै मांगहरू सम्वोधन पनि भयो । म स्थिरताको केही दिनमै धरानबाट सिरहा सदरमुकाम पुगेँ । र, फाल्गुण २ गते सिरहाका तत्कालिन जिल्ला सेक्रेटरी अजय शंकर नायक (अविनाश) हाल कानून मन्त्री हुनुहुन्छ उहाँकै जिम्मामा रिहा भएँ । र, आफ्नै गृह जिल्ला सप्तरी फर्किएँ ।
मधेशी जनतामा खुशीको हर्ष र उल्लास छायो । तर, त्यो खुशी धेरै दिन टिक्न सकेन । मधेशवादी नेताहरूको व्यापक निजी स्वार्थका कारण सता, सरकार र कुर्सीको लोभमा सारा मधेशी जनताका सपना र आदर्श चकनाचुर भयो । निर्वाचनमा मधेशी जनताको व्यापक मतदानले मधेशवादी दल देशको तेस्रो पार्टीको दर्जामा आयो । तर, केही वर्ष नबित्दै सबै फूटेर माओवादी पार्टी झैं धज्जी धज्जी बन्यो ।
नेताहरूको स्वार्थका कारण शहिदका सपना र मधेशी जनतामाथी कलंकको टिका थाप्ने दुस्साहास गर्यो । र, आज मधेशी जनता आफ्नो पूर्ण मुक्ति र स्वतन्त्रताकालागि फेरी पनि भौतारिन विवश छन् । त्यसैले मधेशवादी दलहरू विगतको इतिहासबाट पाठ सिकेर नयाँ सिरानीबाट फेरी मधेश मुक्तिकालागि अगाडि बढनु जरूरी छ । यसकालागी निजी राजनीतिक स्वार्थहरूबाट माथि उठ्नु जरूरी छ । र, सबै एक आपसमा विना शर्त विलय हुनु जरूरी छ । यसकालागी धेरै ठूलो त्याग र तपस्याको खाँचो छ । जुन त्याग वलिदान भन्दा सयांै गुणा दर्दनाक हुन्छ । वर्तमान अवस्थामा गम्भीर प्रश्न तेर्सिएको छ, के मधेशवादी दलले त्यो त्यागको वलिदान गर्न सक्छन् ?
( लेखक नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन सप्तरीका संयोजक हुन् । हाल उनी द्वन्द्वकालीन मुदामा सप्तरी सदरमुकाम राजविराज कारागारमा छन् । )

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer