राजविराज, २ माघ । सप्तरी जिल्लाको पहिचान एवम् स्वाभिमान झल्किने ‘सप्तरी गान’को छायांकन अन्तिम चरणमा पुगेको छ ।
सप्तरी क्षेत्र नम्वर–३ का सांसद समेत रहेका निवर्तमान सिंचाई मन्त्री उमेश कुमार यादवको सहयोगमा उक्त गीतको भिडियो राजविराजको जननी फिल्म्स प्रा. लि.मार्फत निर्माण हुन लागेको हो । डेढ वर्ष अघि ‘द ग्रेट सप्तरी द बेस्ट सप्तरी, ग्रीन राजविराज क्लिन राजविराज, अपन गाम सुन्दर ठाम बोलको गीत खुल्ला प्रतिष्पर्धाबाट छनौट भई रेकर्डिङ्ग गरिएको थियो । गीतको छनौट समितिमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, व्यासशंकर उपाध्याय र श्यामसुन्दर यादव रहेका थिए ।
साहित्यकार सागरवीर कडारीको शब्द रचना रहेको उक्त गीतमा शैलेन्द्र विश्वकर्मा, कैलाश झा, देवेन्द्र सोनी, अञ्जु यादवलगायतका गायक–गायिकाको सु–मधुर स्वर रहेको छ । जिल्लाको पहिचान, स्वाभिमान एवम् गौरवगाथा वर्णन गरिएको उक्त गीतमा चर्चित सङ्गीतकार शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको छ ।
राजविराजको रेणुका रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग भएको उक्त गीतको छायांकन लगभग अन्तिम चरणमा पुगेको छ । उक्त गीतको निर्देशन जननी फिल्म्सकी अध्यक्ष समेत रहेकी नायिका डोली सरकारले गरिरहेकी छिन् । गीतमा नायिका डोली सरकार र नायक सौरभ चौधरीको मुख्य भूमिका रहेको छ । भिडियोको सम्पादन सूर्यनारायण साह ‘बैजु’ले गरिरहेका छन् ।

चर्चित मोडेलहरु ऋषिका चौधरी, मुकेश यादव, खलनायक फिरोज खान, नवीन, तुलसी सिंह, गायक कैलाश झा, देवेन्द्र सोनी, अन्जु यादव, सङ्गीतकार शैलेन्द्र विश्वकर्मा, गीतकार सागरवीर कडारी, कल्पना सरकार, चम्पा विश्वकर्मा, तुलसी सिंह, अञ्जली कार्की, सुनिता ईशर, पल्लवी मिश्रा, हेमा ईशरलगायतका कलाकारहरुको अभिनय रहेको छ । अत्याधुनिक क्यामराबाट गीतको छायांकन चर्चित क्यामेराम्यान विनोद सापकोटाले गरेका छन् ।
गीतमा विभिन्न धर्म सम्प्रदायको पहिचान तथा संस्कृति झल्काउनुका साथै जिल्लालाई चिनाउने धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलका साथै महत्व झल्काउने विषयवस्तुलाई देखाईएको छ । यस अतिरिक्त सप्तरीका युवाहरुले जिल्लामा थालेको ऐतिहासिक ५० हप्ते सरसरफाई अभियानका केही दृष्यहरु समेत समावेश गरिएको छ ।
एउटै गीतमा एकसाथ ५० जनाभन्दा बढी कलाकारहरुको प्रयोग जिल्लामै पहिलो पटक भएको नायिका सरकारले जानकारी दिएकी छिन् । उक्त भिडियो आगामी फाल्गुन महिनाभित्रै एक विशेष समारोहका बीच सार्वजनिक गरिने समन्वयकर्ताको भूमिकामा रहेका योगेन्द्र प्रसाद यादव ‘छोटु’ले बताएका छन् ।
तस्विरहरुः श्यामसुन्दर यादव/न्यूज टुडे







