राजविराज, २८ पुस । मिथिलाक अनुपम डेग नामक संस्थाद्वारा विहीवार राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा ‘मातृभाषामे शिक्षाः एक डेग विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका देवेन्द्र मिश्रले मातृभाषामा पठनपाठन गर्ने प्रतिवद्धता राज्यले गरिसक्दा पनि कार्यान्वयन हुन नसकेको बताए । मल्लकालीन समय मैथिली भाषाकालागि स्वर्णिम समय भएको चर्चा गर्दै उनले भने ‘शाहवंशीय शासनकालको प्रारम्भ भएपछि मैथिली भाषामाथि दमनको शुरुवात भयो, नेपाली भाषा लादिएपछि मैथिली लगायतका भाषाहरुको विकास क्रम अवरुद्ध भएको हो ।’
मातृभाषामा पठन–पाठन गरिएमा प्रभावकारी हुने ठहर गर्दै युनेस्को लगायतले विश्वमै कार्यान्वयन गर्न गराउन प्रयासरत रहेको साहित्यकार मिश्रले बताए । राज्यले नै निर्दिष्ट गरेको विषयलाई कार्यान्वयन नगरेकोमा आपत्ति जनाउँदै उनले भने ‘मातृभाषामा पठन–पाठन कार्यलाई कार्यान्वयनमा ल्याउन सम्पूर्ण मातृभाषी जागरुक भई सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।’
कार्यक्रममा दहेजमुक्त मिथिलाका अन्तर्राष्ट्रिय अध्यक्ष प्रवीणनारायण चौधरीले मातृभाषामा पठन–पाठन नभएसम्म मैथिली भाषाको विकास नहुने बताए । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष जनआनन्द मिश्रले मैथिली भाषामा पठन–पाठनमा देखिएको पाठ्यपुस्तकको समस्यालाई समाधान गर्न शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रलाई घचघचाउनुपर्ने आवश्यकता औंल्याए ।
मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डलले राजनीतिक दलहरुले मैथिली भाषालाई उपेक्षा गरेको बताए । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका राजनीतिक विष्लेशक प्राध्यापक अमरकान्त झाले मातृभाषामा पठन–पाठनको व्यस्था राज्यले गरे पनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै यसकालागि सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए । डा. अखिलेश झाले मैथिली भाषालाई राजनीतिक एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।
‘मिथिलाक अनुपम डेग’की अध्यक्ष आरती झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, प्रा. अशोक झा, मैथिल महिला परिषद्की पूर्व अध्यक्ष समेत रहेकी तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य साधना झा, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. प्रयाग यादव, साहित्यकार ब्रजमोहन झा, महोत्तरीका मैथिली अभियानी प्रशान्त सविता अर्जुन झा, मैथिलीकर्मी संजोग देवलगायतले मातृभाषामा पठन–पाठन हुनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा मैथिली अभियानी प्रवीण नारायण चौधरीले कक्षा १० सम्मका छात्रछात्राले मैथिलीमा कथा, कविता, निबन्ध आदि लेखेमा मिथिलाक अनुपम डेगले मूल्यांकन गरेर जानकारी प्रथमलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । सोही अन्तरक्रियाले ७ बुँदे घोषणा–पत्र समेत जारी गरेको छ ।
आयोजक संस्थाका महासचिव निराजन झाद्वारा सञ्चालित कार्यक्रममा किरण झा, कञ्चन झा, विद्या झा ‘डेजी’ र अञ्जु यादव र केशव झाले गीत प्रस्तुत गरेका थिए ।