राजविराज, ११ पुस । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित भगवतपुर बडहरीमा सञ्चालित चन्द्रभोगा कप फुटबल प्रतियोगिताको उपाधी महोत्तरी स्पोर्ट क्लब महोत्तरीले जित्न सफल भएको छ ।
सोमवार सम्पन्न फाइनल खेलमा आयोजक ११ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै महोत्तरीले उपाधी हात पार्न सफल भएको हो । खेल शुरु भएको २ मिनेटमै महोत्तरीेका रितेश सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको दोश्रो हाफको ७ औं मिनेटमा आयोजक टीमका कुशेश्वर चौधरीले हेडमार्फत गोल गर्दै टीमलाई बराबरीमा पुर्याएका थिए ।
पहिलो हाफ भन्दा दोश्रो हाफमा आक्रमक खेल खेलेको महोत्तरी टीमका गंगाबहादुर आले र अर्जुन गुरुङ्गले क्रमश ः १३ औं र २५ औं मिनेटमा गोल गरी टीमलाई बिजयी गराएका थिए । उपाधीसँगै महोत्तरी टीमले शिल्डसहित नगद रु. ३१ हजार हात पारेको छ भन्ने उपविजेता आयोजक टीमले कपसहित नगद रु. २१ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिता पश्चात आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि केसरी मनि ट्रान्सफरका प्रोप्राइटर बिन्देश्वर प्रसाद चौधरी, आयोजक समितिका अध्यक्ष दिपेन्द्र प्रसाद चौधरी लगायतले शिल्ड कप तथा प्रमाणपत्र बितरण गर्नुभयो ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ५,६ र ७ का बासिन्दा मिलेर गत पुस ४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा सप्तरीसहित उदयपुर, सुनसरी, सर्लाही लगायतका ८ टीमको सहभागिता रहेको थियो । प्रतियोगिता समापनको अवसरमा आयोजक समितिका अध्यक्ष दिपेन्द्र प्रसाद चौधरीले चन्द्रभोगा कपको दोश्रो संस्करण अगामी बर्षपनि सञ्चालन गर्ने र अगामी केही बर्षभित्रै शम्भुनथामा फुटबल एकेडेमी स्थापना गरिने घोषणा गरिएको छ ।