राजविराज, ७ पुस । सप्तरी जिल्लाको विकास निर्माण र सुशासनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विहीवार ज्ञापनपत्र पठाईएको छ ।
नेपाली कांग्रेसका सांसद रञ्जित कुमार कर्णको नेतृत्वमा रहेका पार्टी निकटका संघ संगठनका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी बलदेव गौतममार्फत संयुक्त रुपमा ज्ञापनपत्र पठाईएको हो । ज्ञापन पत्रमा भारतीय दुतावासको सहयोगमा सप्तरीमा सञ्चालित अधुरा योजनाहरुको पुर्णता, खाँडो पुल र कुनौली सडक निर्माणमा भएको ढिलासुस्तीको विषयमा ध्यानाकर्षण गाराईएको छ । 
सामुदायिक विद्यालयहरुको प्रभावकारी अनुगमन, वर्षौदेखि वन्द अवस्थामा रहेको राजविराज विमानस्थलको स्तरोन्नती, वृहत्तर सिचाई योजना, जिविस र गाविसको विकासीय वजेटको अनुगमन, राजविराज नगरपालिकालाई स्मार्ट सिटि लगायतका मागहरु ज्ञापनपत्रमा समावेश गरिएको छ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरहरुको ब्यवस्था गरी निःशुल्क औषधीहरुको लिष्ट टाँस्नुपर्ने, वन्द रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सञ्चालन हुनु पर्ने माग गरिएको छ ।
जिल्ला मतदाता अधिकार मञ्च, विपी विचार समाज, तपेश्वरी समाज कल्याण संघ, चेतना समाज, सोशल सोसाईटि डेभलपमेण्ट, नेपाल मुस्लीम समाज संघ, नागरिक समाज, एकल महिला समुह, दिगो ग्रामिण विकास नेपाल, शिक्षा युनेस्को केन्द्र, सांस्कृतिक युनेस्को केन्द्र, लोकतान्त्रीक अपांग कल्याण संघ, सेभ द लाईफ र जिल्ला पारालिगल कमिटिले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको युवा नेता पार्थो सरकारले जानकारी दिएका छन् ।