राजविराज, १६ मंसिर । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास कुमार तिवारीको स्वास्थ्य अवस्था बिग्रदै गईरहेको छ ।
अवस्थामा सुधार गर्न उनले पटक–पटक ज्ञापन–पत्र तथा स्मरण–पत्र दिँदा पनि अस्पताल प्रशासनले वास्ता नगरेपछि आमरण अनसनमा बस्न बाध्यभएका हुन् । अस्पताल परिसरमै रुखमुनि विगत १० दिनदेखि आमरण अनसनलाई निरन्तरता दिँदैआएका छन् । निरन्तरतको आमरण अनसनमा रहेका तिवारीको स्वास्थ्य स्थिति बिग्रदै गईरहेको छ ।
उनीसँगै मधेशी मोर्चा सप्तरीका संयोजक सुबी यादव, सचिव प्रभाकर सिंह, सचिवालय सदस्य सावित्री पंडित र सचिवालय सदस्य जयसुन्दर खिडहरी यादव भने अस्पताल प्रशासनसँगको सम्झौता पश्चात अनसन तोडेका छन् । मोर्चाका सल्लाहकार समेत रहेका तिवारीले मोर्चासँग अस्पतालले गरेको सहमतीमा उल्लेख भएका कुराहरु प्रतिवद्धताको रुपमा मात्र आएको मोर्चाका सल्लाहकार समेत रहेका तिवारीले टिप्पणी गरे । उनले भने ‘सहमती पत्रमा लेखिएका अधिकांश मागहरु तत्काल कार्यान्वयनमा देखिनुपर्ने र अस्पतालका विरामीहरुले अनुभुती गर्नुपर्ने हो तर यस्तो देखिएको छैन् ।’
आफूले राखेका मागहरु सम्बोधन गर्नुकासाथै अस्पतालको दुरावस्थाबारे बुझ्न स्वास्थ्यमन्त्री गगन थापा आउनुपर्ने बताउँदै तिवारीले भने ‘मलाई विश्वास छ गगन थापाजी जस्तो व्यक्ति स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, वहाँ राजविराज आएर अस्पतालको वस्तुस्थिति बुझ्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’ अस्पतालमा सेवा लिन आएका सर्वसाधारण जनताले सहज एवम् सुलभ रुपमा उपचार पाउनबाट समेत बञ्चित रहेको सम्वन्धित निकायको ध्यानाकर्षण गराउन आमरण अनसनको बाटो रोजेको उनले बताए । अञ्चल अस्पतालप्रति सरोकारवाला निकायले चासो नदेखाएकोमा दुखेसो सुनाउँदै अध्यक्ष तिवारीले भने ‘मैले आम जनताको हितकालागि थालेको आमरण अनसनप्रति ऐक्यवद्धता, सहयोग समर्थन गरिदिन अनुरोध गर्दछु, साथै मानवअधिकारवादी, कानूनव्यसायी, राजनीतिकर्मी, सञ्चारकर्मीलगायत सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’
अस्पताल बालमैत्री बनाउनु पर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने, अस्पताल मूल गेट निर्माण हुनु पर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनु पर्ने, अस्पतालमा प्रसुति गृह लगायत निर्माणाधीन भवनहरूको निर्माण कार्य अविलंब पुरा हुनुपर्ने, अस्पतालमा सरकारले उपलब्ध गराउने औषधीहरू सुची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ । यसैगरी आ.व. २०७२÷०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सो को खर्च विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपूर्ति महाशाखाको शेड्युल अनुसार आ.व.२०७२÷०७३ को विकास र साधारण शिर्षकको बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आय–व्यय विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानविन हुनु पर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनु पर्ने जस्ता माँग लिएर आमरण उनले अनसनलाई निरन्तरता दिएका छन् ।
तिवारीले तीन वर्ष अघि विकास निर्माण, सर्वसाधारण जनताले पाउनुपर्ने सेवा सुविधा, भाषिक अधिकारलगायतको विषयलाई लिएर २२ दिनसम्म आमरण अनसनमा बसेका थिए ।