राजविराज, १६ मंसिर । सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा समेत १ घण्टा वन्द गरिएको छ ।
डा. गोविन्द केसीको माग र अनशनप्रति अनुदार देखिएको भन्दै चिकित्सक संघको आह्वानमा सेवा अस्पतालको अवरुद्ध गरिएको हो । अस्पतालमा विहान १० वजेदेखि ११ वजेसम्म आकस्मिक वाहेको सेवा रोकिएको जनाईएको छ । केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), चितवन, पोखरा, काभ्रे, उदयपुर, बुटवल, नेपालगन्ज, धनगढी र दोलखालगायत ठाउँमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मी आकस्मिकबाहेकका सेवा छाडेर सडकमा उत्रिएका छन् ।
वीर तथा ट्रमामा कार्यरत रेजिडेन्ट चिकित्सकले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै अस्पतालअगाडि धर्ना दिएका छन् । सरकारी चिकित्सक संघ (गोदान) ले २४ घन्टाभित्र केसीका माग पूरा गर्ने सहमति गरी अनशन नटुंग्याए सरकारी स्वास्थ्य संस्थाबाट निवाद्र्ध सेवा प्रवाह हुन नसक्ने जनाउँदै माग पुरा नभए शुक्रवारदेखि सेवा ठप्प पार्ने चेतावनी दिईएको छ ।
डा. केसीले उपकुलपति खनियाँको बर्खास्तगी वरिष्ठता आधारमा आइओएममा डिन नियुक्ति, एमबिबिए शुल्क निर्धारण, आइओएमलाई अधिकतम आर्थिक तथा प्रशासनिक स्वायत्त बनाउनुपर्ने, चिकित्सा शिक्षा ऐन नआउँदासम्म कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने र चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठनलगायत माग अगाडि सारेका छन् ।