राजविराज, १४ मंसिर । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले अस्पतालको सुधारकालागि २६ बुँदे प्रतिवद्धता व्यक्त गरेको छ ।
अस्पताल प्रशासनले मङ्गलवार पत्रकार सम्मेलन मार्फत आन्दोलनरत मधेशी मोर्चासँग भएका सहमतीपत्र सार्वजनिक गर्दै अस्पताल सुधार गर्ने प्रतिवद्धता गरेको हो । मोर्चाले अस्पताल परिसरमै विभिन्न माग राख्दै आमरण अनसन गर्दैआएका थिए । सोमवार राती मोर्चाका प्रतिनीधिसहित सर्वपक्षीय प्रतिनीधिहरुको रोहबरमा सहमती भएपछि मोर्चाका सल्लाहकार विकास तिवारी बाहेकले आमरन अनसन तोडेका छन् ।
नेपाल सरकारको नियमानुसार उपलब्ध हुने सेवाहरु तत्काल उपलब्ध गराउने, चिकित्सकहरुको प्रिस्क्रिप्सन अनुसार खाना उपलब्ध गराउने, प्रत्येक वाडमा प्युरिफाइड पानीको व्यवस्था एक महिनाभित्र गर्ने, अस्पतालको मूल गेट एक हप्ताभित्र मर्मत गर्ने, विशेषज्ञ चिकित्सककोलागि सरोकारवालासहित माथिल्लो निकायमा माग गर्ने, निर्माणाधिन मेटनिटी भवनलाई पूर्ण रुपमा निर्माण गर्न जिल्ला विकास समिति सप्तरीसँग माग गरी यसै आर्थिक वर्षमा कार्य सम्पन्न गर्ने निमित्त मेसु साहले पत्रकार सम्मेलनमा जानकारी दिए । अस्पतालमा उपलब्ध चिकित्सक तथा अन्य आवासहरुलाई तत्काल मर्मत सुधार, मेसिनरी औजारहरुको चार महिनाभित्र व्यवस्थापन गर्ने, शौचालय, धारासहित एक हप्ताभित्र मर्मत सुधार गर्ने, वार्डहरुको पंखा, झ्याल ढोका तीन महिनाभित्र व्यस्थापन गर्ने, अस्पताल परिसर बाहिरको फोहोरलाई नगरपालिकासँग समन्वय गरी तत्काल व्यवस्थापन गर्ने प्रतिवद्धता गर्ने जनाईएको छ ।
अस्पतालबाट वितरण गरिने औषधिको विवरण सूची एक हप्ताभित्र टाँस गर्ने, खानाको ठेक्का विवरण, आयव्यय लगायतका विषयहरु तत्काल सम्वोधन गर्ने स्टोरकिपर मनोज यादवले जानकारी दिए । उनले अस्पतालमा कतिपय विषयवस्तुहरु आजैदेखि सुधारको क्रममा रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा मधेशी मोर्चाका केन्द्रीय तथा स्थानीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।