रामनाथ यादव
राजविराज, १३ मंसिर । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको विषयलाई लिएर जारी आमरण अनसनका सहभागी नेता विकास तिवारीले असन्तुटि जनाएका छन् ।
अस्पताल प्रशासन र मधेशी मोर्चाका प्रतिनीधिहरु बीचको सहमति पश्चात राती आठ बजेदेखि मोर्चाका वरिष्ठ सल्लाहकार तिवारीले अनसन जारी राखे पनि अन्य भने तोडेका छन् । सप्तरी प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, विभिन्न पेशागत सङ्गठनका प्रतिनीधिहरुसमेतको रोहबरमा भएको वार्तामा अस्पतालको तर्फबाट निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप कुमार साहले मोर्चाले राखेका मागहरु पुरा गर्न मङ्गलवारैदेखि कामकार्वाही अगाडि बढाइने प्रतिवद्धता जनाएका छन् ।
पटक–पटक ज्ञापन–पत्र तथा स्मरण–पत्र दिँदा पनि वास्ता नगरेपछि मधेशी मोर्चा सप्तरीद्वारा थालिएको आमरण अनसन विगत ६ दिनदेखि जारी रहँदैआएको छ । मोर्चाका संयोजक सुबी यादव, सचिव प्रभाकर सिंह, सचिवालय सदस्य सावित्री पंडित र सचिवालय सदस्य जयसुन्दर खिडहरी यादवले आमरण अनसन तोडेका छन् ।
यद्यपी उक्त निर्णयप्रति मोर्चाका वरिष्ठ सल्लाहकार तिवारीले असन्तुष्टि जनाउँदै अनसनलाई आफूले निरन्तरता दिने बताएका छन् । सहमति गरेका विषयहरु काइते पाराको भएकोले सेवाग्राहीले यस्तो निर्णयबाट सेवाग्राहीले सेवासुविधा नपाउने प्रतिक्रिया दिएका छन् ।
अस्पताल बालमैत्री बनाउनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने, अस्पताल मूल गेट निर्माण हुनु पर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनु पर्ने, अस्पतालमा प्रसुति गृह लगायत निर्माणाधीन भवनहरूको निर्माण कार्य अविलंब पुरा हुनुपर्ने, अस्पतालमा सरकारले उपलब्ध गराउने औषधीहरू सुची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ । यसैगरी आ.व. २०७२÷०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सो को खर्च विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपूर्ति महाशाखाको शेड्युल अनुसार आ.व.२०७२÷०७३ को विकास र साधारण शिर्षकको बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आय–व्यय विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानविन हुनु पर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनु पर्ने लगायतका मागहरु राखिएको छ ।