• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

मंसिर १० गते स्वतन्त्र मधेश गठबन्धनले ‘रंगभेद विरोध दिवस’ मनाउने

मंसिर १० गते स्वतन्त्र मधेश गठबन्धनले ‘रंगभेद विरोध दिवस’ मनाउने

राजविराज, ७ मंसिर । २०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट तीन सय भन्दा बढी मधेशीहरुलाई छालाको रङ्ग देखेरै गिरफ्तार गरेको घटनाको स्मरण गर्दै मधेशका जिल्लाहरुमा रङ्गभेद दिवस मनाईने भएको छ ।

डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले यस वर्ष समेत मधेशका जिल्लाहरूमा मंसिर १० गते शुक्रबार प्लाकार्ड र वैनरसहित शान्तिपूर्ण प्रदर्शन गर्दै ’रंगभेद विरोध दिवस’ मनाउने निर्णय गरेको हो । कार्यक्रम मधेशमा झापादेखि कञ्चनपुर जिल्लासम्म आयोजना गरिनेछ ।
कार्यक्रमलाई सफल बनाउन, अनुगमन गर्न तथा समाचार संकलन गर्नका लागि राजनैतिक तथा सामाजिक कार्यकर्तारअभियन्ताहरु, नागरिक समाज, विभिन्न पेशाकर्मी, विद्यार्थी, पत्रकार र मानवअधिकारकर्मी लगायत सम्बन्धित निकाय तथा आम जनतामा गठबन्धनका सह–संयोजक कैलाश महतोले आग्रह गरेका छन् । डा. सीके राउत जेलबाट रिहा भए पछि, २०७१ साल मंसीर १० गते काठमाडौंमा सार्क सम्मेलन चलिरहेको मौका पारेर काठमाडौंकै खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । सोही कार्यक्रमकालागि तयारी गरिरहेका कार्यकर्ताहरुलाई मंसीर ९ गतेदेखि नै काठमाडौं तथा बाहिरबाट धरपक्कड गरिएको थियो ।
मंसीर १० गते पनि सो धरपकड गर्ने क्रम जारी नै रह्यो र सुन्धारा क्षेत्रबाट डा. सी.के. राउत लगायत ३०० भन्दा बढी मधेशीहरुलाई गिरफ्तार गरिएको थियो । त्यस क्षेत्रमा कालो छाला भएको मान्छे देखिने वित्तिकै गिरफ्तार गरिन्थ्यो । सोही क्रममा वीर अस्पताल जान लागेका विरामी कुरुवाहरु तथा कालो वर्णका सादा पोशाकका मधेशी प्रहरीहरु समेत गिरफ्तार भएका थिए ।
नेपाल सरकारद्वारा गरिएको सो गिरफ्तारीलाई एमनेष्टी इन्टरनेशनल तथा एशियन ह्युमन राइट्स कमिशन समेतले विज्ञप्ति जारी गरी विरोध गरेको थियो । सोही रङ्गभेदी गिरफ्तारीको सम्झना स्वरुप, देश र विदेशमा मधेशी माथि भइरहेको रङ्गभेदको सन्देश दिन, हरेक वर्ष मंसीर १० गते ’रंगभेद विरोध दिवस’ मनाउन थालिएको छ । यस भन्दा अघिल्लो वर्ष यो दिवस मधेशका जिल्लाहरुमा मनाइएको थियो । यस क्रममा १५० जनालाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको सह–संयोजक महतोद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।