दिपेन्द्र यादव
इनरुवा, ५ मंसिर । सुनसरीका किसानहरुलाई सोचेअनुसारको आम्दानी आउने नदेखेपछि गहुँ खेती छोडेर मकै खेतीतर्फ आकर्षित भएका छन् ।
गहुँ खेतीमा लगानी अनुसारको आम्दानी नसकेका कारण कृषकहरु गहुँ खेतीबाट निरास भएका हुन् । जिल्लाका विभिन्न स्थानमा सघन रुपमा लगाइने गहुँबाली यस वर्ष छिटफुट रुपमा मात्र गहु्ँ खेती गरिरहेको पाइएको हनुमान कृषक समुह नरसिंह– ३ सुनसरीका अध्यक्ष दुर्गानन्द यादवले बताए ।
सुनसरीमा स्थानीय जात र उन्नत जातको गहुँ बाली खेतीमा एन एल २५७, वि एल १४७३, एन एल २५१, वि एल १०२२, गौतम, आदित्य र विजय जातका गहुँबाली लगाउँदै आइरहेको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाइएको छ । किसानहरुलाई सोचेअनुसारको नाफा नभएका कारण गहुँबाली बाट दिक्क मानेर मकै खेती गर्ने तरखरमा रहेको गुराँस कृषक समुह लौकहीका देवानन्द मेहताले जानकारी दिएको छ ।
किसानहरुलाई मकै खेतीबाट अरु बालीको तुलनामा राम्रो आम्दानी हुने भएकोले मकै बालीतर्फ आकर्षित हुने गरेका छन् । मकै खेती गर्न किसानलाई कम लगानीमा बढी फाइदा हुने भएकाले किसानहरु गहुँ बाली छोडेर मकै बाली लगाउन थालेको स्थानीय भोक्राहाका कृषक सुरेन्द्र मेहताले बताए ।
जिल्लाका विभिन्न भागमा खाद्यान्न बालीको हिसावले हेर्दा धान र गहँुबाली पछि मकै तेस्रो स्थान ओगटने गर्थे भने हाल मकैबाली धान बाली पछिको बालीको रुपमा स्थानीय कृषकहरु मकैबालीलाई दोश्रो बालीको रुपमा स्थापित गरिसकेको छ । सुनसरीका किसानहरु स्थानीय जातको मकै भन्दा पनि उन्नत जातको मकै बाली लगाईरहेको जिल्ला कृषि विकास कार्यालय सुनसरीका बाली विकास शाखाका अधिकृत रेवती भण्डारीले जानकारी दिए । अधिकृत भण्डारीका अनुसार उन्नत जातको मकै खेतीमा बायोसिड, मनसान्टो, कारगिल, अलराउण्डर, पायनियर, रामपुर कम्पोजीटलगायत जातको खेती जिल्लाका विभिन्न स्थानमा लगाउने गरेका छन् ।