राजविराज, १० कार्तिक । साहित्यकार एवम् पत्रकार सुजित कुमार झाको सातौं कृति ‘बुलबुल’ कथा सङ्ग्रह बुधवार राजविराजमा एक समारोहका बीच विमोचन गरिएको छ ।
जिल्ला विकास समिति सप्तरी सभाकक्षमा आयोजित समारोहका बीच एभिन्युज टेलिभिजन र राजधानी दैनिकका धनुषा सम्वाददाता समेत रहेका झाद्वारा लिखित उक्त मैथिली कथा सङ्ग्रह विमोचन गरिएको हो । मैथिली साहित्य परिषद् सप्तरीका पुर्व अध्यक्षहरू बिष्णु कुमार मण्डल, देबेन्द्र मिश्रा, बिबेकान्द मिश्र, भाषाबिज्ञ डा. सुनिल कुमार झा र परिषद्का वर्तमान अध्यक्ष शुभचन्द्र झाले संयुक्त रूपमा लोकार्पण गरेका छन् ।
कार्यक्रममा बोल्दै बक्ताहरुले ‘बुलबुल मैथिली कथा सङ्ग्रह मैथिली भाषा साहित्यको क्षेत्रमा अनुकरणीय हुने विश्वास व्यक्त गरे । साहित्यकार झाले सरल भाषामा सामाजिक परिवेशको यथार्थ चित्रण गर्न सफल भएको भन्दै लेखनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
मैथिली भाषा, साहित्य, कला, संस्कृति समृद्ध रहे पनि राज्यको उदासिनताले गर्दा पछाडि पार्ने षड्यन्त्र भईरहेको बताए । मातृभाषामा पठनपाठन प्रभावकारी रहँदा पनि राज्यले यसलाई बेवास्ता गरेर नेपाली भाषा लाद्ने काम गरिरहेकोले यसलाई तत्काल रोक्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिए ।
पुस्तक लोकार्पण समारोहमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास कुमार तिवारी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करूणा झा, नेपाल सद्भावना पार्टीका महासचिव राजीब झा, नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष रामआषिश यादव, मैथिल महिला परिषद्की अध्यक्ष सबिता दासलगायतकाले पुस्तकको बिशेषताबारे चर्चा गरे ।
लेखक झाको उक्त पुस्तकको प्रकाशन आफन्त नेपाल जनकपुरधामले गरेको छ । धनुषा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता तथा मैथिली साहित्य सिर्जनामा लागेका उनका चिडै, जिद्दी, कोइली घुरि आउ, खजुरीवालीसहितका पुस्तक प्रकाशित छन् ।