राजविराज, ३ कात्तिक । जिल्ला हुलाक कार्यालय सप्तरीले विश्व हुलाक दिवसको अवसरमा बुधवार पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा सप्तरीका पत्रकार राजकुमार पासवान रहेका छन् । पत्रिका दर्ता गराउन राजविराजस्थित जिल्ला हुलाक कार्यालय पुगेका पत्रकार पासवानलाई सम्मानित गरिएको छ । पासवानलाई फूलको माला तथा अबिर लगाएर डायरी र डटपेन हस्तान्तरण गर्दै सम्मान गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख दक्षनारायण श्रेष्ठले जानकारी दिएका छन् । पासवान कञ्चनरुप साप्ताहिक पत्रिका दर्ता गराउन हुलाक कार्यालय पुगेका थिए । उनी उक्त पत्रिकाका प्रबन्ध निर्देशक हुन् ।
विश्व हुलाक दिवस अक्टोबर ९ तारेखका दिन परे पनि उक्त दिन महाअष्टमीको विदा परेकाले हुलाक सेवा विभागले कात्तिक ३ गते अर्थात बुधबार यो दिवस मनाउन परिपत्र गरेको थियो । सोही अनुसार जिल्ला हुलाकले कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालयमा सरसफाई समेत गरिएको जनाईएको छ ।