राजविराज, २ कातिक । मधेश प्रिमियर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा रौतहटको चपुर क्रिकेट क्लवले सिरहाको क्रिकेट क्लव राइट्सलाई ११० रनको अन्तरले पराजित गरेको छ ।
मधेश प्रिमियर लिग क्रिकेट बोर्डको आयोजनामा सप्तरीको राजविराज स्थित राजरङ्गशालामा मङ्गलवारदेखि एमपिएल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो । उद्घाटन खेलमा रौतहटले टस जिति पहिले व्याटिङ्ग गर्ने निर्णय ग¥यो । जसमा सुधीर चौधरी ४२, अदिल खान २७ र सञ्जय बस्नेत २९ रन बनाई टिमलाई १९५ रनको विशाल लक्ष्य पुर्याउन सफल रहे । 
बलिङ्गतर्फ सिरहाको दिपेश २, सुशान्त चौधरी, त्रिदेव झा र राजकुमार दासले १÷१ विकेट लिए । जवाफी ब्याटिङ्ग गर्न मैदानमा ओर्लेका सिरहाका ब्याट्सम्यानहरु २० ओभरमा ८ विकेट गुमाई ८५ रनमै समेटिए ।
बलिङ्गतर्फ रौतहटका सञ्जय बस्नेत, नन्दन यादव र रोशन शर्माले २÷२ विकेट लिए । उक्त खेलको म्यान अफ द म्याच सञ्जय बस्नेतलाई राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय महासचिव केशव झाले पुरस्कार प्रदान गरे । बुधवार पहिलो खेल वीरगञ्ज र जनकपुर तथा दोस्रो खेल महोत्तरी र धनुषा–११ बीच हुने आयोजक समितिका उपाध्यक्ष पवन दासले जानकारी दिएका छन् । 
एमपिएलको दोस्रो सिजनको उद्घाटन दोस्रो मधेश आन्दोलनका शहिद राजिव राउतकी पत्नी निलम देवी राउत र रामकृष्ण राउतकी पत्नी सुदामा देवी राउतले संयुक्त रुपमा गरेकी छिन् । एमपिएल बोर्डका अध्यक्ष ई. संजिवनारायण यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झा, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विशेश्वर यादव, स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. वीरेन्द्र प्रसाद यादव, नेता जगजीवन राम, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डल, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष समेत रहेका एमपिएल बोर्डका सल्लाहकार श्यामसुन्दर यादव, युवा नेता कासिन्द्र राम, लगायतले मधेशमा खेलको प्रबल सम्भावना रहे पनि राज्य पक्षले उपेक्षा गरेको बताए ।
मधेशलाई खेलकुदमा पनि अन्तर्रा्िष्ट्रयस्तरमा चिनाउने उद्देश्यकासाथ मधेश प्रिमियर लिग (एमपिएल) अन्तर्गत दोस्रो चरणको प्रतियोगितामा जनकपुरमा प्रहरी प्रशासनले अवरोध पुर्याएपछि उक्त खेल राजविराजस्थित राज रङ्गशालामा सञ्चालन भएको हो । जनकपुरस्थित कबर्डहल मैदानमा उद्घाटन हुने निश्चित भएको प्रहरी प्रशासनले ‘भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण छ’ भन्दै कार्यक्रममा अवरोध पुर्याएपछि राजविराजमै खेल सञ्चालन भएको छ ।
प्रतियोगितामा मधेशका विभिन्न २० जिल्लाबाट १६ वटा क्रिकेट टिमले भाग लिने जनाईएको छ । एमपिएलको दोस्रो एमपिएलमा गैरआवासीय मधेशी संघ, मधेशी इन्जिनियरिङ स्टुडेन्ट युनियन र अमेरिकास्थित मधेशी एराउन्ड द वल्र्ड एशोसिएशनलगायत संघसंस्थाले सहयोग गरिरहेका छन्
उद्घाटन समारोहमा एमपिएल बोर्डका अध्यक्ष ई. संजिवनारायण यादवले शहिद पत्नीद्वयलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । 

