राजविराज, १ कातिक । मधेशलाई खेलकुदमा पनि अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउने उद्देश्यकासाथ जनकपुरमा हुने भनिएको मधेश प्रिमियर लिग (एमपिएल)को उद्घाटन खेल सप्तरीमा हुने भएको छ ।
मधेश प्रिमियर लिग (एमपिएल) अन्तर्गत दोस्रो चरणको प्रतियोगितामा जनकपुरमा प्रहरी प्रशासनले अवरोध पुर्याएपछि उक्त खेल राजविराजस्थित राज रङ्गशालामा हुने जनाईएको छ । आगामी कात्तिक दुई गते मङ्गलवार जनकपुरस्थित कबर्डहल मैदानमा उद्घाटन हुने निश्चित भएको प्रहरी प्रशासनले ‘भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण छ’ भन्दै कार्यक्रममा अवरोध पुर्याएको एमपिएल बोर्डका अध्यक्ष ई. संजिवनारायण यादवले जानकारी दिएका छन् ।
जनकपुरमा अवरोध पुर्याएपछि एमपिएलको उद्घाटन खेलकालागि राजविराजस्थित राजरङ्गशालामा आवश्यक तयारी भईरहेको उनले जानकारी दिए । एमपिएलको उद्घाटन सप्तरी जिल्लाका सहीद परिवारले गर्ने निश्चित भएको ई. यादवले बताए । उनका अनुसार उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका केन्द्रदेखि जिल्लास्तरका नेताहरुको आउने कार्यक्रम रहेको छ । एमपिएलमा आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन एमपिएल बोर्डले सबैपक्षसँग आग्रह गरेको छ ।
प्रतियोगितामा मधेशका विभिन्न २० जिल्लाबाट १६ वटा क्रिकेट टिमले भाग लिने जनाईएको छ । एमपिएलको दोस्रो एमपिएलमा गैरआवासीय मधेशी संघ, मधेशी इन्जिनियरिङ स्टुडेन्ट युनियन र अमेरिकास्थित मधेशी एराउन्ड द वल्र्ड एशोसिएशनलगायत संघसंस्थाले सहयोग गरिरहेका छन् ।