• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

नारी उत्पीडन विरुद्ध नयाँ गीति एल्बमः लोकगाथा गायक रामको समेत गायन(भिडिओ समेत)

नारी उत्पीडन विरुद्ध नयाँ गीति एल्बमः लोकगाथा गायक रामको समेत गायन(भिडिओ समेत)

श्यामसुन्दर यादव

राजविराज, १ कार्तिक । गाउँघरमै विशेष अवसरहरुमा लोकगाथा गायनमै सिमित रहेका सातैन रामको पहिलो पटक स्टुडियोमा मैथिली गीत रेकर्डिङ्ग सम्पन्न भएको छ ।
मृदङ्ग र ओरनिको सुरमा किशोरावस्थादेखि गाउँदैआएका उनको गीत सप्तरीको राजविराजस्थित रेणुका रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो । मलेकपुर–६ खुरहुरिया घर भएका लोकगाथा गायक रामलाई चर्चित साहित्यकार एवम् कलाकर्मी धीरेन्द्र प्रेमर्षिले गाउँबाट बोलाएर मैथिली गीत गाउने अवसर दिएका हुन् ।
शुरुमा जब उनी बाबाजीको भेषमा ओरनि(स्थानीय लोकबाजा)लिएर स्टुडियो छिरे तब त्यहाँ उपस्थित गायकगायिकाहरु ‘यो बाबाजी यहाँ के गर्न आएको हो ? भनी आश्चर्यचकित भए । तर जब प्रेमर्षिले रेकर्डिङ्ग अघि गीतको अभ्यास गर्न भनेपछि रामले हातमा रहेको ओरनिमा रञ्जन घँसेर गाउनथालेपछि सबै जिल्ल परे । Satain ram n Dhirendra premarshi
अक्षरको ज्ञान नभएका उनलाई प्रेमर्षिले गीतका शब्दहरु अघिअघि भन्दै रियाज गराएर रेकर्डिङ्गकालागि स्टुडियोभित्र लगे । स्टुडियोमा सङ्गीत संयोजन गरिरहेका शैलेन्द्र विश्वकर्मा र रेकर्डिस्ट अमन झालाई असहज जस्तो अनुभुति भयो । तर जब उनले बिना म्युजिक ट्रयाक ओरनि रेट्दै गाउन थाले ‘बिन देखले संसारमे बेटी मरि रहल छै यौ, तिलकक आगिमे मिथिला जरि रहल छै यौ’ सबै भावुक जस्तो देखिए ।
जब जीवनमा रेकर्डिङ्ग स्टुडियो नछिरेका रामले आफूले गाएको गीत आफै सुनेपछि उनको खुशीको सिमा नै रहेन । ‘नयाँ पिढीले लोकगायनमा चासो नराखेका कारण आफ्नो गायन मरेपछि सँगै जाने हो कि भनी चिन्ता लागेको थियो तर मेरो आवाज सुरक्षित भएकोमा खुशी लागेको छ’ उनले मुस्कुराउँदै भने ‘मैले गाउने लय र आवाजसँग मेल खाने गीत गाउने अवसर दिएर धीरेन्द्र प्रेमर्षिजीले ठूलो गुण लगाउनुभएको छ ।’
मैथिली भाषा, कला, साहित्य एवम् सांस्कृतिक अभियानका दूतको रुपमा चिनिएका प्रेमर्षिले दशैंको विदालाई स्थानीयस्तरका गीतकार, गायकगायिकालाई जोड्नमा खर्चेका छन् । राजविराजको बसाईमा उनी मैथिली गीति एल्बम तयार पार्न सफल भएका छन् । हालसम्म मैथिलीमा रेकर्ड भएका गीति एल्बमहरुभन्दा यो पृथक रहेको छ । कुल ६ ओटा गीत रहेको उक्त एल्बममा दाइजो प्रथा, भ्रुण हत्या, सामाजिक जागरण, नारी उत्पीडनको व्यथाकासाथै नारीवादी एवम् नारी सशक्तिकरणसँग सम्वन्धित गीतहरु समावेश गरिएको प्रेमर्षिले बताए ।
हालसम्म नाम चयन नभएको उक्त एल्बममा प्रेमर्षि, मैथिल प्रशान्त, सुबोध चौधरी, र असरफ राइनको शब्द रहेको छ । गीतहरुमा प्रेमर्षिका साथै सातैन राम, अन्जु यादव, कञ्चन झा, तेजु मैथिल र ज्योति बिकको स्वर रहेको छ ।Singer Dhirendra Premarshi and Anju Yadav

गायिका अन्जुले हालसम्म गाएका गीतहरुभन्दा आफूले यो एल्बममा गाएको गीत पृथक रहेको प्रतिक्रिया दिईन् । गीत गाएर स्टुडियोबाट बाहिरिँदै उनले भनिन् ‘धीरेन्द्र प्रेमर्षि जस्ता विशिष्ट व्यक्तित्वसँगै गीत गाउन पाउनु मेरो लागि सौभाग्यको कुरा हो, वहाँकै शब्द रहेको यो गीत सम्पूर्ण नारी जातीकालागि प्रेरणादायी एवम् सामाजिक रुपान्तरण महत्वपूर्ण हुनेमा म आशावादी छु । गायिका अन्जु गुनगुनाउँदै भनिन् ‘आमिल पिबैत कहलनि ओ, छोडु हमरा परतारु नै…आफैले गाएको यो गीतमा आँखा रसाउन थाल्छ ।’
एल्बमको सम्पूर्ण प्रेमर्षिकै सङ्गीत रहेको छ भने सङ्गीत संयोजक शैलेन्द्र विश्वकर्माले गरेका छन् । ‘न्यूज टुडे’सँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ‘यो एल्बमको माध्यमले स्थानीय स्तरमा रहेका प्रतिभाहरुलाई जोड्ने प्रयास गरेको छु, सामाजिक विकृति विसङ्गतीलाई तोड्नमा यस एल्बमका गीतहरु केही हदसम्म सफल हुनेमा आशावादी छु ।’

हेर्नुस् सातैन रामको रफ रेकर्डिङ्ग भिडिओ