राजविराज, २८ असोज । राजविराजमा शुरु भएको प्रथम देव क्रिकेट लिग प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न दुई छुट्टाछुट्टै खेलमा किष्ट देव राइर्डस र देव टिम बिषहरिया विजयी भएको छ ।
देव सेवा समितिले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन किष्ट देव राइडर्सले खर्साल टिमलाई र बिषहरियाले हनुमाननगर टिमलाई पराजित गरेको छ । पहिलो खेलमा टस जितेर पहिले व्याटिङ्ग गरेको किस्ट निर्धारित १५ ओभरको खेलमा आठ विकेट गुमाएर १ सय ७ रनको योगफल खडा गरेको थियो ।
प्रतिउत्तरमा १ सय ८ रनको लक्ष्य लिएर व्याटिङ्ग थालेको खर्साल टिम निर्धारित ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउँदा किस्ट टिम ३३ रनले विजयी भयो ।
यस्तै दोस्रो खेलमा टस जितेर व्याटिङ्ग गरेको हनुमाननगरले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो । प्रतिउत्तरमा बिषहरियो टिम ११ ओभरमा ३ विकेट पूरा गरी लक्ष्य पूरा ग¥यो ।
स्थानीय राज रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार सेमी फाइनल र फाइनलका खेल समेत हुने आयोजक देव सेवा समितिका महासचिव निपिन देवले जानकारी दिए । देव समुदायका युवाबीच जमघट गरेर चिनजान गर्ने र मनोरंजन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष ध्रुब देवले जानकारी दिएका छन् ।