श्यामसुन्दर यादव
राजविराज, २६ असोज । सप्तरीको मलेकपुर–६ खुरहुरियाका मैथिली लोकगाथा गायक सातैन रामको दशैं खल्लो रह्यो । दशैं आउनु अगावै मृदङ्ग बाजा फुटेका कारण यसवर्षको दशैंमा आम्दानी नहुँदा उनको दशैं खल्लो भएको हो । छोरा जस्तै अति माया गर्ने मृदङ्ग बाजा बजाएर आफूले दशमी, दीपावली, जितियालगायतका पर्वहरुमा दुई–चार पैसा कमाउने गरेको बताउँदै उनले मलिन स्वरमा भने ‘मृदङ्ग फुट्नु भनेको मेरो भाग्यै फुट्नु सरह हो ।
छिमेकी गाउँहरुमा आयोजन हुने विभिन्न अवसरका साथै दशैंको समयमा आफू दिनाभद्री, सलहेश आदिको महराई र दशमीमा भगैत गाएर घर खर्च धान्नमा सहयोग हुने गरेको उनले बताए । फुटेको मृदङ्ग बनाउन कम्तिमा तीन हजार रुपैयाँ लाग्ने जानकारी दिँदै उनले भने ‘पैंचो सापटी गरेर मृदङ्ग बनाउन खोजें तर कसैले नदिएपछि निराश भएर घरमै बस्नुपर्दाको पीडा कसरी पोखुँ ?’
सोह्र वर्षकै उमेरदेखि ओरनी र मृदङ्ग बाजा बजाएर तालमा गाउन सिकेका उनीसँग एक धुर पनि जग्गा छैन । नहरको डिलमा फुसको झुप्रो बनाएर दैनिक ज्याला मजदुरी गरेर उनी गुजारा चलाउँदैआएका छन् । गतवर्ष दशैं सकिएको केही दिनपछि रुख काट्ने क्रममा हातमा हाँगाको चोट लागेको हात भाँचेको थियो । उपचार गराउन खर्च नभएपछि खुरहुरियाका वासिन्दाले चन्दा संकलन गरी उपचार खर्च जुटाईदिएका थिए । हातमा स्टील लागेको सातैनको हात अहिले सामान्य जस्तै भईसकेको छ ।
लोकगायनमा प्रित बसेका उनले बाँचुञ्जेल मैथिली लोकगायनको प्रचारप्रसारमा लागि रहने प्रतिवद्धता जनाए । आफ्नो कला वर्तमान अवस्थामा खासै महत्व नपाईरहेको अवस्थामा पछिल्लो समय नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको आदर तथा सम्मानले उत्साहित भएको उनले बताए । आफूले मैथिली लोकगायन कलालाई अर्को पुस्तामा हस्तान्तरण गर्नकालागि केही युवाहरुसँग सिक्न आग्रह गरे पनि वास्ता नगरेको उनको दुःखेसो छ । घरको बडेरीमा झुण्ड्याईको मृदङ्ग खोलेर देखाउँदै सातैनले आफ्नै भाषामा भने ‘हमर ई ठिक रैहतै त दशमीमे दुई–चार हजार कमाई भ जेतियै ।’