• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

भारदह र कडरबोनामा चेतनामुलक सडक नाटक प्रदर्शन

भारदह र कडरबोनामा चेतनामुलक सडक नाटक प्रदर्शन

राजविराज, १७ असोज । बालविवाह, बहुविवाह, घरेलु हिंसाबिरुद्ध सडक नाटक ‘बालविवाह जिनगी तबाह’ नाटक सप्तरीको भारदह र कडरबोनामा प्रदर्शन भएको छ ।
शनिबार र आइतबार प्रदर्शन गरिएको उक्त नाटकमा बालविवाह, बहुविवाह, घरेलु हिंसा, यौन शोषण, महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद र यसबाट पर्ने नकारात्मक असर तथा विद्यमान कानुनी व्यवस्थाको सन्देश दिइएको छ । विवाह भएका बालक पढ्न शहर गएपछि उतै सँगै पढने महिला साथीसँग दोस्रो विवाह गरेको र यता विवाहिता बालिकाले घरमा यौन दुव्र्यवहार, हिंसा सहनु परेको र जन्मिएको सन्तानको मृत्यु भएको कथावस्तु समेटिएको छ ।
प्रहरी प्रधान कार्यालय, प्रहरी अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका सेवा निर्देशनालयअन्तरगत महिला तथा बालबालिका सेवा केन्द्रको सहयोगमा लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालले सो सडक नाटक प्रदर्शन गरेको हो । दुबै कार्यक्रममा एकहजार भन्दा बढि दर्शकहरुको सहभागिता रहेको थियो । सञ्जालका अध्यक्ष एवं नाटकका लेखक तथा निर्देशक मनोहर कुमार पोखरेलले जल्दोबल्दो मुद्दाका रुपमा रहेको लैङ्गिक हिंसा विशेषगरी महिला हिंसा, बालविवाह, लैङ्गिक विभेद, बहुविवाह, यौन शोषण, घरेलु हिंसा, दाइजो, कथित बोक्सीजस्ता सामाजिक बेथितीहरु नेपालजस्तो कम विकसित देशमा अझै तराई मधेसको ग्रामिण क्षेत्रमा सदियौंदेखि जरो गाडेर बसेको जनाउदै चिन्ता ब्यक्त गरे ।
आर्थिक, सामाजिक तथा राजनैतिक विकासको प्रक्रियाबाट धेरै पछाडी परेको महिलामाथिको विभेद र हिंसा अन्त्य गरेर मात्र समावेशी समाजको निर्माण गर्न सकिने भन्दै अध्यक्ष पोखरेलले समान अधिकारलाई प्रवद्र्धन गर्न सके मात्र मुलुकको दिगो विकास सम्भव हुने बताउनुभयो ।
जिल्ला बाल क्लब सञ्जाल, सप्तरीका बालबालिकाहरुद्वारा प्रस्तुत सडक नाटकमा अमर यादव, रन्जना चौधरी, लालु चौधरी, अञ्जनी यादव, जिवेन्द्र यादव, आशिष गुप्ता, काजल चौधरी, सुरुची झा, मनिषा यादव, निरज यादव, अनिरुद्ध ठाकुर, सुमन चौधरी, दिलिप राई, बरदान श्रेष्ठ, अरुणा चोधरी लगायतले अभिनय गरेका थिए । दर्शकहरुले जनचेतनाको कमी तथा गरिबीका कारण गाउँसमाजमा हिंसाका अनेक घटना हुने गरेको जनाउँदै अब हिंसाजन्य घटना भएमा नजिकैको प्रहरी कार्यालयमा उजुरी दिने बताएका थिए ।