• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

प्रधानमन्त्री प्रचण्डलाई जेलबाट जिउँदो सहिद अनिलको खुल्ला पत्र(पुरा पढ्नुहोस्)

प्रधानमन्त्री प्रचण्डलाई जेलबाट जिउँदो सहिद अनिलको खुल्ला पत्र(पुरा पढ्नुहोस्)

अरुण कुमार साह (अनिल)
बिग्रेडियर, पूर्व जनमुक्ति सेना नेपाल
हाल ः राजविराज कारागार, सप्तरी
प्रचण्ड ज्यू,
इतिहास साचिकै निर्मम र कठोर हुन्छ । म तिमीहरूकै स्कूलिङ्गबाट जन्मे हुर्केको पात्रहरू मध्ये एउटा सक्रिय पात्र हुँ । तिमी आज फरक दुनियाँको दोसाधमा छौं । तिमीले महसुस गर या नगर । म भन्ने महसुस गर्दैछु । जीवन रहुन्जेल गर्नेछु पनि । र त आज बन्द पर्खालभित्र विगत भन्दा फरक जीवनको फरक पाटोमा फरक महसुस गर्दैछु । जीवन र जगतलाई फरक दर्शनको सूत्रमा उन्ने कोशिस गर्दैछु । समय सापेक्ष जीवन दर्शनको वास्तविकता नियाल्दैछु ।
सर्वोच्च कमाण्डर प्रचण्ड ज्यू, तिम्रै कारण आज जीउँदो शहिदको पंक्तिमा छु म पनि । हामी त अज्ञान मान्छे थियौं । तिमीले भन्थ्यौ जनयुद्ध लडेपछि मुक्ति पाईन्छ । सायद तिमी र तिम्रो सन्तानले मुक्ति पाए होलान् । तिमीहरूकै कारण आज सारा नेपालीको सपना चकनाचुर भएकोछ र मेरो पनि । शहिद, वन्दी, वेपता, घाईते, अपांगहरूको सपनामाथि खेलवाड भएकोछ । तिमी स्वीकार या नस्वीकार । सारा दुनियाँले स्वीकारी सकेकोछ । म दर्जनौ युद्ध मोर्चामा दर्जनौ बमबारूद र गोलीको छर्रा शरीरमा भिरेकोछु । गर्व छ, पछुतो छैन् मलाई । तर, तिमीहरूले आदर्शलाई पैतालामुनी कुल्चीएर तुच्छ स्वार्थका पछाडी नांगै दौडियौ । तिमीहरूको यो तमासालाई भित्रै देखि धिक्कार्न मन लाग्छ ।
महोदय, अझैं पनि मेरो मष्तिकको गिद्दिमा दर्जन भन्दा बढी छर्रा छ । सुरूवाती गर्मी र जाडो मौषममा पिडाले मुर्छित हुन्छु । चेतना गुमाउनु पर्छ । उपचार सम्भव छैन् । हारेको छु उपचारको दौडाहामा । अहिलेको नेपाली राजनितिमा लागेको कालो कलंक जस्तैछ मेरो जीवनको अनुभूति । सायद यहि सोचेर विगतमा थुप्रै जनयोद्धाहरूले आत्म हत्या सम्म नगरेको होईन । म भन्ने त्यती निच्च र कायर छैन् । म जीउँदो भूत बनी तर्साई रहनेछु जीवनभरी । यो जीउँदो शहिदको उपाधी भन्दा सुन्दर र महान अजरअमर शहिदको जीवन रहेछ । के गर्ने महोदय, म त्यो उपहार पाउन सकिन । त्यसैले खेदछ मलाई । आफ्नै जीवन धिक्कार्छ मलाई सहिद हुन नपाएकोमा ।
प्रधानमन्त्री महोदय, आज सारा घरपरिवार र जनता त्यागेर पागल खाना जेलभित्र जीवन व्यतित गर्दैछु । ५० जना अँटाउने जेलमा ५०० जना अँटेकोछ । त्यसैमा एउटा मेरो जीवन अँटेकोछ । जेलमा अशान्ति र असहियताको विगविगीछ । कति सहनु, कतिलाई सम्झाउनु ? त्यसको पनि सिमा हुन्छ नि । सिमा उलंघन गर्नासाथ असिम बर्वबर्वताको पीडा छ यहाँ । अपमानको सलामीछ । सलामको मलामीछ । कति पटक सजायको भागेदार भए स्वयम थाहा छैन् । सजायको पनि सिमा हुन्छ । यो कस्तो लोकतन्त्र हो ? मुर्खलाई लठ्ठीले हिर्काउनु, बुद्धिमानलाई गाली गर्नु भन्दा वेतर छ ।
प्रधानमन्त्री प्रचण्ड ज्यू, मुलुकमा जति परिवर्तन भए पनि कुनै स्थायी कानुन र संविधान छैन् । सत्य असत्य दुबैको सम्मान जीत छ यहाँ । सत्यलाई असत्यमा वदलिन मिल्छ । यसको लागि वलियो पक्कड र पहुँच हुनुपर्छ । वैधानिक रूपमा कागजी काम पुरा गरे काम फतेह हुन्छ । बलियो पंहुँच र पकड नहुनेहरूको लागी जीवन अन्धकार छ । र उनकै लागी छ कानुनि घेराबन्दी पनि । भएको सहमती पनी कार्यावयनमा छैन् । कानुनी प्रावधान रूपमा नयाँ देखिए पनि सारमा पुरानै प्रचलन हावी छ । यसले अवला र कमजोर बीचको अन्तर कायम छ । लोकतन्त्रको महसुस कहि कतै पनि छैन् । विस्तृत शान्ती सम्झौता विरूद्ध ममाथि अन्तरघात भएकोछ । सत्य निरूपन तथा मेलमिलाप आयोग नाममा मात्र सिमीत छ । आयोग खोलेर राजनितिक कर्मचारी पाल्ने धन्दा भएको छ । राज्यको ढुकुटी सखाप पार्ने मेलोमेसो छ ।
महाशय, परिवर्तनको समर यात्रामा जातपात, धर्म, लिंगभन्दा माथि उठ्यौं । रगत नाताभन्दा बर्गिय नातालाई प्राणभन्दा प्यारो ठान्यौं । सहिदको सपना र क्रान्तिको कार्यभारलाई आत्मसात गर्दै केन्द्रमा राख्यौं । तिमीले बुर्जुवा समाज र शिक्षालाई तिलाञ्जली दिन सिकायौं । र, त हामी साम्यवादी, समाजवादी समाज निर्माणका लागि वर्ग संघर्षको बाटो अंगाल्यौं । मुक्ति र मृत्यूको सपथ खायौं । जनवादी स्कूलिङ्गमा विना विभेद एउटा मधेसको छोरो पहाडको छोरीसँग जनवादी जीवन अंगाल्यौं । एउटै परिवार र समाजमा सजिन मेहनत गर्यौं । घर परिवार र समाजले पचाउन नसक्ने कार्य हामीले पचाउन साहस गर्यौं । पचायौं पनि । र, जीवनभर यो निरन्तरतालाई अविचलित प्रदर्शन गरिरहनेछु । हामी रतीभर विचलित छैन महोदय । बरु तिमीहरु विचलित भयौं । कलंकको टिका थाप्यौं । दुनियाँ हसायौं । जताततै हण्डर ठक्कर खायौं । कम्युनिष्ट विचार र प्रचण्डपथीय सिद्धान्तलाई बेचि खायौं । तिमीहरु प्नि अन्तत उही र उस्तै वर्गमा फेरियौं । हामी फेरेका छैन महोदय । फेरिने पनि छैनौं । हाम्रो यात्रा जारी छ, निरन्तर जारी रहन्छ पनि । जहाँ भएपनि जहाँ रहेपनि विचार मर्ने छैन् हाम्रो । विचार त अजर अमर भएर प्रज्वलित हुनेछ । किनभने विचारको जग हामी निर्माण गरिसकेका छौं । जीवन त निर्माण हो महोदय । सकारात्मक विधिको निर्माण होस् वा नकारात्मक तरिकाको निर्माण होस् । सबै जीवन आखिर जीवन नै हो ।
प्रधानमन्त्री महोदय, तिमीहरुकै कारण आज म यो दुर्दशा भोग्दै छु । र, तिमीहरुको निजी स्वार्थ पुरा गर्न बाध्य छु । जेल भोगेर भएपनि तिमीहरुको बाँकी सपना साकार पार्न विवश छु । मैले विगत १० वर्षमा पार्टीको नाममा अनैतिक लाभ उठाउने कुचेष्टा गरिनँ । जुन प्रवृति आज पार्टी सतहमा देखिन्छ । यो सत्यता तिमीहरुको बीचमा छैन्, जनताको बीचमा छ । तिमीहरु अब जनतामा निर्भर छैनौं । दलाल र भरौटेहरुमा निर्भर छौं । त्याग, तपस्या र बलिदानको मुनाफा तिनै शामन्त दलाल र जमिनदारहरुको खल्तीमा छ । त्यसैले तिमी आत्तिएका छौं । डिनरमा मातिएका छौं । किनभने तिम्रो वरिपरि आज थुप्रै क्रान्तिकारी सर्वहाराका खोस्टाहरु जन्मेका छन् । जो १६ हजार सहिदको वर्ग दुश्मनको पँक्तिमा अंकित थियो । तिनै वर्गसँग आज तिमीले घाँटी जोडेका छौं । सहिदका सपना चकनाचुर भएको छ । र, त केवल १० वर्षको त्याग, तपस्या र बलिदानमाथि बिजातीय वर्गको अवसर र संरक्षण छ ।
सर्वोच्च कमाण्डर प्रचण्ड ज्यू, आज १० बर्षे जनयुद्ध र सहिदको सपना किन धज्जी हुदैछ ? यसको जवाफ जाहियो महोदय । हामी जस्ता जिउँदो सहिद, घाईते, अपांग र बन्दी बेपत्ता परिवारलाई सहिदको सपना चाहियो । यसैमा तिम्रो भलो छ, नभए तिमीहरुलाई फेरी पनि बाँचुन्जेल भुत बनेर तर्साइरहनेछ । महोदय, वर्ग संघर्षको मैदानमा फरक फरक सोच चिन्तन र विचारको विकास स्वभाविक विषय र प्रकृया हो । यो माक्र्सवादी विज्ञानको नियम पनि हो । तर त्यसलाई एक ठाउँमा गोलबन्ध गर्न सकेनौं तिमीले । आज ति सारा फरक फरक बैचारिक आस्थाहरु विभक्त भएर आफ्नै स्वर्गको सपनामा भौतारिदैछ । आन्दोलन र क्रान्तिको कार्यभार कमजोर बन्दैछ । हामी त्यसैको सिकार भएका छौं महोदय । तिमी सेना र पार्टी दुबैको सर्वोच्च कमाण्डर भएर पनि पार्टीलाई एक ठाउँमा राख्न सकेनौं । न त तिमीले आफ्नो जिम्मेवारीलाई लोकतान्त्रिककरण गरेर पार्टी फुटलाई जोगायौं । आज हाम्रो आदर्शमाथि विजातिय वर्गको रजाई छ । जिम्मेवारको हिसावले यो सबै इतिहासको जिम्मेवार तिमी हौं महोदय ।
प्रधानमन्त्री महोदय, कुन शब्दले सम्बोधन गरौं ? सम्बोधनको अर्थ तिमीले सखाप बनायौं । प्रधानमन्त्री भनौं वा सर्वोच्च कमाण्डर ? तिमी सर्वोच्च कमाण्डर हुँदा तिम्रो निर्देशनमा घटेको घटना हो यो । आज तिमी प्रधानमन्त्री÷सत्तामा हुँदा तिम्रै निर्देशनमा म जेल परेको छु । घटना र नेतृत्व एउटै हो । घटनाको प्रकृति मात्र फरक छ महोदय । शान्ति प्रकृयापछि पार्टी विचार विपरित विभिन्न आरोपितहरुलाई तिम्रो संरक्षण छ । तर म राज्यसँग भएको विस्तृत शान्ति सम्झौताको मापदण्डमा पर्छु महोदय । तर किन संरक्षण र सहयोग छैन् मलाइृ ? हिजो जेजस्तो कमिकमजोरी भएपनि तिमीले नै सारा जिम्मा लिने साहास गथ्र्यौं । तर आज तिमी किन साहास गरेनौं÷गर्दैनौं पनि ? आज तिम्रो साहास कुन अँध्यारो कोठाको स्वार्थमा विलय भयो ?
महोदय, मलाई कानुन थाहा छैन् । जसरी भएपनि म जस्ता जिउँदो सहिदहरुको उद्धार हुनुपर्छ । आज तिमी जुन कुर्सी ओग्टेका छौं । त्यो हामीहरुकै उपज हो । दिनरात जनताको काममा पुलिस प्रशासन धाइरहँदा कहिले सूचनासम्म मिलेन ममाथिको मुद्दा । आफैपनि खोजविन गर्दा समेत कहिल्यै यस्तो कुरा भेटिनँ । कमिशनको खेलमा तिम्रो पुलिस प्रशासन र अरअदालत झुक्याएर फसाउनेमा माहिर छ । र त आज एक्कासी पुरानै फैसला भएर आयो । यो कहाँको नियम हो ? कसले गर्यो षड्यन्त्र र अन्तरघात ? वैचारिक आस्था फरक हुँदैमा षड्यन्त्रको तानाबना छ यहाँ । तिमीले गरेको विस्तृत शान्ति सम्झौताको कार्यान्वयण कहाँ छ आज ? तिमीले बनाउन लगाएको सत्य निरुपण तथा मेलमिलाप आयोग कहाँ छ ?
प्रधानमन्त्री महोदय, जिम्मेवार सानो वा ठूला जे भएपनि जिम्मेवारी नै हुन्छ । तर भोगाईको हिसाबले फरक अवश्य हुन्छ । जुन भोगाई म भोग्दै छु । कुकुरको पनि आफ्नो सिमा हुन्छ रे । जुन दल र पार्टीको नेतृत्वमा राज्यको बागडोर हातमा आयो । सबैले आफ्नो दुनो सोझ्याउने खेल गर्यो । तर तिमी किन भयवित छौं ? थाहा छैन् भने पछाडी फर्केर हेर सत्य आखिर के हो । १० वर्ष विताएको जति पीडाको महसुस जीवनमा भएन्, आज उति पीडा बोध हुँदैछ । मलाई स्मरण छ महोदय, जुन कारण म जेल परेको छु । त्यसको प्रमुख दोषी तिमी हौं । कार्यान्वयणको हिसाबले अरु पनि छन् । तर तिनीहरु अहिले तिम्रो कार्यकर्ता भएर मुक्त छन् । त्यतिबेला पार्टी चलाउन धौं धौं पर्दा तिमीले निर्देशन दियौं र त्यही मुताविक घटेको घटना हो यो । त्यतिबेला धुप्रै समस्याको सामाधान भएको थियो । यो घटनामा मेरो आमाबुवा समेत प्रहरीको यातनाले मानसिक सन्तुलन गुमाएका छन् । नभए अहिले पनि मेरो घर परिवारमा गएर हेरे हुन्छ । म फगत वयान गरेको छैन् । हामीसँग के दुश्मनी छ आज महोदय ? के मान्छेले भनेझै कम्यूनिष्टहरु जड, संकिर्ण र निरँकुश साँच्चिकै हुन्छ ? काम नलाग्ने बुढापाकाहरुलाई मारि सिध्याउँछन् ? होइन् भने यो पत्रको पीडा निराकरण हुनुपर्छ ।