राजविराज, ९ असोज । ‘हम किसी से कम नही’ मूल नाराकासाथ जनकपुर र राजविराजमा आयोजना हुनलागेको मधेश प्रिमियर लिग (एमपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको आयोजकले जनाएको छ ।
मधेशी इन्जिनियर स्टुडेन्ट यूनियनको आयोजना तथा अन्तराष्ट्रिय मधेशी सङ्गठनको सहयोगमा कार्तिक २ गतेदेखि उक्त प्रतियोगिता आयोजना हुने भएको हो । मधेशका प्रमुख दुई शहरमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको आयोजक युनियनका संयोजक सञ्जीवनारायण यादवले जानकारी दिएका छन् ।
उनका अनुसार खेलको शुभारम्भ जनकपुरबाट तथा फाइनल खेल राजविराजमा हुनेछ । एमपिएल टुर्नामेन्ट प्रतियोगितामा मधेशका सप्तरी, सिरहा, महोत्तरी, धनुषा, मोरङ्ग, सुनसरी, नवलपरासी, सर्लाहीलगायतका जिल्लाहरुबाट चर्चित टिमहरुको सहभागिता रहने सचिव तीर्थनारायण दासले जानकारी दिएका छन् । एमपिएलको लोगोसहितको भेस्टसमेत हालै सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख एक हजार, उप विजेता टिमलाई रु ५१ हजार, म्यान अफ द सिरिजलाई एलइडी टेलिभिजन, बेस्ट बलर र व्याटसम्यानलाई साइकल प्रदान गरिने जनाईएको छ । प्रतियोगितालाई सफल पार्न आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैपक्षसँग मधेशी इन्जिनियर स्टुडेन्ट यूनियनले आग्रह गरेको छ ।
मधेशमा खेलाडि उत्पादन तथा व्यवसायिक खेलाडि तयार गर्ने र अन्तराष्ट्रिय जगतमा मधेश टिमबाट सहभागी गराईने लक्ष्यकासाथ प्रतियोगिता आयोजना गरिने उनले बताए । यसअघि एमपिएलको पहिलो संस्करण राजविराजस्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो ।