• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रतिभाशाली युवा अमित कर्णको आग्रह

मेरो नाम अमित कुमार कर्ण (३२) हो । म धनुषा जिल्लाको एउटा सानो गाउँ बसहियामा जन्मेको तथा हुर्केको हुँ । मैले स्कूल स्तरको पढाई मेरै गाउँमा रहेको श्री गोगल प्रसाद मा.वि.बाट तथा कलेज स्तरको पढाई विज्ञान अध्ययन केन्द्र क्याम्पस (१०+२) जनकपुरबाट पूरा गरेको छु । मैले पुल्चोक क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयमा स्नातक तथा पावर सिस्टम इन्जिनियरिङ्ग बिषयमा स्नातकोत्तर शिक्षा हासिल गरेको छु । मसंग एडभान्स्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्टमा शिक्षण सहायक तथा सह-विभागीय प्रमुखको रुपमा कार्य गरेको दुई बर्षको कार्यानुभव छ । हाल म नेपाल विद्युत प्राधिकरणमा सहायक प्रबन्धक पदमा कार्यरत रहेको छु । देशभरी विद्युत शक्ति उत्पादन, प्रसारण तथा वितरण गर्ने जिम्मेवारी पाएको नेपाल विद्युत प्राधिकरण ऊर्जा क्षेत्रमा कार्य गर्नेहरुको लागि उत्तम ठाउँ भएकोले नेपाल फर्केपछि पुनः यहि संस्थामा काम गरी देशको ऊर्जा क्षेत्रको विकास गर्न टेवा पुर्याउने मेरो लक्ष्य छ ।

पढाई तथा कार्यको अतिरिक्त फुर्सदको समयमा मलाई नयाँ ठाँउ घुम्न तथा क्रिकेट खेल्न मनपर्छ । विश्व प्रतिष्ठित चिभनिङ् छात्रवृति पाएकोमा म औधी उत्साहित तथा गौरवान्वित भएको महशुश गरिरहेको छु । चिभनिङ् छात्रवृति पाएर विश्वको प्रख्यात विश्वविद्यालयमा आफूले रोजेको बिषय पढ्ने मेरो सपना साकार हुने भएको छ । चिभनिङ् छात्रवृति अन्तर्गत बेलायतको डर्हम शहर स्थित डर्हम विश्वविद्यालयमा एनर्जी एण्ड सोसाईटि बिषयमा स्नातकोत्तर तहमा अध्ययन गर्न म सेप्टेम्बरको चौथो साता बेलायत जाँदै छु । यदि तपाई पनि म जस्तै आफ्नो सपना साकार गर्न इच्छुक हुनुहुन्छ भने ८ नोभेम्बरभित्रै सन् २०१७/२०१८ को चिभनिङ् छात्रवृतिको लागि आवेदन दिन समेत प्रोत्साहित गर्न चाहन्छु ।