राजविराज, ३० भदौ । सप्तरीको जमुनी मधेपुरा गाउँ विकास समितिको वडा नम्वर– २ स्थित जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको छ ।
विगत तीन–चार दिनदेखि उक्त बस्तीमा झाडापखालाको प्रकोप फैलिएको हो । टोलका हालसम्म बालबालिकासमेत गरी ५६ जना झाडापखालाबाट प्रभावित भईसकेका छन् । शुरुमा उल्टी हुने र पखाला लाग्ने समस्याबाट सर्वसाधारण ग्रसित भएका छन् । बस्तीमा एकपछि अर्को गरी प्रकोपको रुप लिएपछि जमुनी टोलबासी त्रसित भएका छन् ।
चार दिनअघि टोलका शंकर शर्मालाई झाडापखाला लागेको तथा पछि त पुरै टोलभरि नै फैलिएको जयकृष्ण गुरमैता यादवले जानकारी दिएका छन् । ‘झाडापखालाले उग्र रुप लिँदै गएपछि सर्वसाधारणमा त्रास अवस्था सिर्जना भएको छ’ उनले भने ‘हाल उपस्वास्थ्य चौकीबाट उपलब्ध केही सलाइन पानी र मेट्रोनले काम चल्दैन, औषधिसहित चिकित्सकको टोली आउनु जरुरी छ ।’ प्रदुषित खानेपानी, सरसफाईको अभाव तथा उचित खानपानमा ध्यान दिएको कारण झाडापखालाले उग्र रुप लिँदै गएको बताउँदै उनले पानी शुद्धिकरण गर्ने औषधी, सरसफाई सम्बन्धि जानकारी दिन औषधिसहित विशेज्ञ टोली बस्तीमा आउनुपर्ने उनले जानकारी दिए ।
झाडापखालाबाट अति सिकिस्त भएछि मात्र बुधवार राती स्थानीय रामदेव यादवलाई बेहोसी अवस्थामा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको सिनियर अहेव जयकृष्णले बताए । उनका अनुसार केही समयमात्र ढिलो भएको भए रामदेव ज्यान बचाउन सकिने अवस्था रहेको थिए ।
झाडापखालाबाट सिकिस्त १७ वर्षिया रुबी कुमारी यादवलाई गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराईएको जनाएको छ । झाडापखालाबाट जमुनी टोलका अधिकांश घर झाडापखालाबाट प्रभावित भएका छन् । यो क्रम अहिले पनि नरोकिएको जनाईको छ ।
यता टोलमा झाडापखालाका विरामीको संख्या बढ्दै गएकोले स्थानीय शारदा निम्न माध्यमिक विद्यालयमा राखेर सामुहिक उपचार थालिएको उपस्वास्थ्य चौकीका प्रमुख क्षत्री साफीले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयबाट सलाइनसहितको आवश्यक औषधीहरु उपलब्ध गराईएको तथा बस्तीमा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।