• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

अनन्त चतुर्दशीका अवसरमा शिवालयहरुमा भक्तजनको घुइँचो

अनन्त चतुर्दशीका अवसरमा शिवालयहरुमा भक्तजनको घुइँचो

राजविराज, ३० भदौ । अनन्त चतुर्दशीका अवसरमा विहीवार सप्तरीसहित देशका विभिन्न शिवालयहरुमा बिहानैदेखि जलरिसाल तथा पूजाआजा गर्न श्रद्धालुभक्तजनहरुको घुइँचो लागेको छ ।

राजविराजस्थित हरिनन्देश्वर महादेव, शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर, बलुवाको भजनेश्वर महादेव मन्दिर, महदेवाको अंकुरी महादेव मन्दिर, लालापट्टीको लालेश्वरनाथ मन्दिर, धरमपुरको धर्मेश्वर महादेवलगायतका शिवालयहरुमा हज्जारौं भक्तजनले जलरिसाल तथा पूजाआजा गरेका छन् । कोसी व्यारेजबाट काँवरमा जल बोकेर शिवालयहरुमा चढाईएको छ ।kawariya
अनन्त चतुर्दशीको एकदिन अगाडीनै सप्तकोशी पुगेर भक्तजनहरुले मध्य रातमा काँवरमा जल उठाई शिवालयहरु पुगेका थिए । भक्तजनहरुलाई जलरिसाल तथा दर्शनकालागि पंक्तिबद्ध भई मन्दिर प्रवेश गराउनुका साथै सुरक्षाकालागि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।
महदेवास्थित अंकुरी महादेव मन्दिरमा करिब दश हजारभन्दा बढी भक्तजनले जलरिसाल गरेको स्थानीय युवा ब्रहम्देव ईशरले जानकारी दिएका छन् । उनका अनुसार मन्दिर भक्तजनको सुविधाकालागि युवा स्वयंसेवक परिचालन तथा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको छ ।
यस्तै जिल्लाको अति चर्चित लालेश्वरनाथ महादेव मन्दिरसमेत करिब पाँच हजार काँवरियाले जलरिसाल गरेका छन् । २०६१ सालदेखि उक्त मन्दिरमा युवा सशक्तिकरण संघ लालापट्टीका अध्यक्ष किशोर कुमार यादव केसीको नेतृत्वमा स्थानीय युवाहरुको विशेष सक्रियतामा जलरिसालको परम्पराको शुरुवात गरिएको थियो । मन्दिर परिसरमा विभिन्न धार्मिक अनुष्ठानकासाथै रामायण पाठसमेत आयोजना गरिएको उनले जानकारी दिएका छन् ।