अजय कुमार झा
स्वास्थ्य नै धन हो । स्वस्थ शरीरभित्र स्वस्थ विचारको वास हुन्छ । ‘बेटर हेल्थ—वेटर लाईफ’; ‘अन्न अनुसारको मन’ उखानै छ । स्वस्थ हावा, खाना, पानी, वातावरण आदि स्वस्थ जीवनका आधार हुन् । अस्वस्थ हावा, खाना, पानी तथा वातावरणकै कारणबाट धेरै जसो रोग लाग्दछन् । राम्रो स्वास्थ्य र दिर्घायु जीवनको लागि स्वस्थ र स्वच्छ खाद्यवस्तु उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो । उपभोक्ताको हक हितको संरक्षण गर्न वर्तमान संविधानमा उपभोक्ता हक भनी मौलिक हकको रूपमा राखिएको छ । उपभोक्ता संरक्षण ऐन, २०५४, उपभोक्ता संरक्षण नियमावली, २०५६, खाद्य ऐन, २०२३, नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७, पशु वधशाला र मासु जाँच ऐन, २०५५, पशु वधशाला र मासु जाँच नियमावली, २०५७ जस्ता कानुनको तर्जुमा समेत गरिएको पाइन्छ । उपभोग्य वस्तुहरू जहिले पनि सफा सुग्घर ठाउँमा बिक्री वितरण गर्नु पर्ने प्रावधान छ ।

सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थमा मिसावट रोक्न र मासुमा हुने स्वस्थता तथा मासुको स्वाभाविक गुण बिग्रन नदिन तथा उपयुक्त स्तर कायम राख्नको लागि पशु वधशाला स्थापना गर्ने र मासु जाँच गर्र्नेे सम्बन्धमा व्यवस्था गर्न पशु वधशाला र मासु जाँच ऐन, २०५५ ल्याइएकोे हो ।
पशु वधशाला र मासु जाँच ऐन, २०५५ ले रोग लागी वा नलागी कालगतिले मरेको पशुको मासु तथा छाला सहितको मासु बिक्री गर्न नपाइने व्यवस्था गरेको छ भने पंक्षी, सुंगुर, बंगुर वा बँदेलको मासु र पशुको जात चिनाउन आवश्यक पर्ने जति हिस्साको मासु वा पशुको टाउको वा खुट्टा छाला सहित बिक्री गर्न भने पाइने व्यवस्था गरेको छ । त्यस्तै एक जातको पशुको मासुलाई अर्को जातको पशुको मासु हो भनी वा एक जातको पशुको मासु र अर्को जातको पशुको मासु मिसावट गरी तथा मासुको स्वाभाविक गुण वा स्वाद परिर्वतन गर्ने वा तौल बढाउने गरी कुनै पदार्थ मासुमा मिसाई बिक्री गर्न नपाइने व्यवस्था गरेको छ । यदि त्यस्ता क्रियाकलाप गरेमा त्यस्तो व्यक्तिलाई पहिलोपटक १० हजार रुपैयाँसम्म र दोस्रो पटक २० हजार रुपैयाँसम्म जरिवाना वा ३ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । परम्परादेखि चली आएको चाडपर्व, धार्मिक पूजाआजा, कुनै भोज भतेर वा धार्मिक उत्सव जस्ता कार्यको सिलसिलामा पशु वधशाला बाहेकको स्थानमा पशुवध गर्न र छाला सहितको मासु उपयोग गर्न पशु वधशाला र मासु जाँच ऐन, २०५५ ले बाधा पु¥याएको छैन ।
पशु भन्नाले गाई, गोरु, साँढे बाहेक भाले जातको खसी तुल्याएको वा नतुल्याइएका बोका, भेंडा, च्यांग्रा, सुंगुर, बंगुर, बँदेल रांगो वा खरायो मासुको लागि योग्य देखिएको भैंसी, बाख्रा, पोथी जातको भेंडा, च्याङग्रा, सुंगुर, बंगुर, बँदेल वा खरायो सम्झनु पर्दछ र सो शब्दले भाले वा पोथी जातको कुखुरा, हाँस, परेवा वा मासुको प्रयोजनको लागि पालिएको अन्य पशु पंक्षी समेत सम्झनु पर्छ भनी पशु वधशाला र मासु जाँच ऐन, २०५५ को दफा २(क) ले परिभाषित गरिएकोे छ ।
पशु वधशाला र मासु जाँच ऐन, २०५५ ले रोग लागी वा नलागी कालगतिले मरेको पशुको मासु तथा छाला सहितको मासु बिक्री गर्न नपाइने व्यवस्था गरेको छ भने पंक्षी, सुंगुर, बंगुर वा बँदेलको मासु र पशुको जात चिनाउन आवश्यक पर्ने जति हिस्साको मासु वा पशुको टाउको वा खुट्टा छाला सहित बिक्री गर्न भने पाइने व्यवस्था गरेको छ । त्यस्तै एक जातको पशुको मासुलाई अर्को जातको पशुको मासु हो भनी वा एक जातको पशुको मासु र अर्को जातको पशुको मासु मिसावट गरी तथा मासुको स्वाभाविक गुण वा स्वाद परिर्वतन गर्ने वा तौल बढाउने गरी कुनै पदार्थ मासुमा मिसाई बिक्री गर्न नपाइने व्यवस्था गरेको छ । यदि त्यस्ता क्रियाकलाप गरेमा त्यस्तो व्यक्तिलाई पहिलोपटक १० हजार रुपैयाँसम्म र दोस्रो पटक २० हजार रुपैयाँसम्म जरिवाना वा ३ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । परम्परादेखि चली आएको चाडपर्व, धार्मिक पूजाआजा, कुनै भोज भतेर वा धार्मिक उत्सव जस्ता कार्यको सिलसिलामा पशु वधशाला बाहेकको स्थानमा पशुवध गर्न र छाला सहितको मासु उपयोग गर्न पशु वधशाला र मासु जाँच ऐन, २०५५ ले बाधा पुरयाएको छैन ।
वध गरेको २४ घण्टासम्म डिप–फ्रिजमा राखेको हुनु पर्ने, वध गरिने पशु चौपायालाई तनावबाट मुक्त गराइनुपर्ने, हिँडाएर ल्याएको कम्तीमा २ दिन पछि मात्र वध गर्नु पर्ने लगायत व्यवस्था गरिएको छ । पशुपंक्षीको उत्पादन नै दुग्धजन्य पदार्थ अण्डा, मासु लगायतको वस्तुको उपभोगको लागि हो । पशुपंक्षीको मासु एनिमल प्रोटिनको एक मुख्य स्रोत हो । मानिसले खान योग्य स्वस्थकर पशुपंक्षीको मासु शरीरको लागि लाभदायक मानिन्छ ।
तर राजविराज नगरपालिकास्थित माछा बजार (फिस मार्केट) वरिपरि एकदमै फोहोर रहेको पाइन्छ । वरिपरि रहेको दुर्गन्धित फोहोर नालाहरू एवं सुंगुरको गोबरले माछा बिक्री स्थानको वातावरण प्रदूषित बनाएको छ । फोहोर वस्तुहरूले माछा संक्रमित हुने र यसबाट उपभोक्तालाई रोग लाग्न सक्ने हुन्छ । माछा संक्रमित भएपछि स्वस्थ माछा उपभोग गर्न पाइँदैन ।
राजविराज नगरपालिकाबाट संचालित व्यवस्थित मासु बजार (मिट मार्केट) अव्यवस्थित मासु बजारमा परिणत भएको सहजै देख्न सकिन्छ । यसको हालत पनि राजविराजको माछा बजार जस्तै छ ।
कहिल्यै पनि फोहोर ठाउँ वा दुर्गन्धित नालाको छेउछाउमा खसी, बोका, कुखुरा, बंगुर, राँगाको वध गरेर मासुको बिक्री गर्नु हुँदैन । यस्तो काम मानव स्वास्थ्यको लागि हानिकारक हुन्छ । त्यसैले माछा, मासु बिक्री स्थान जहिले पनि एकदमै सफा सुग्घर हुनु पर्दछ । जहिले पनि सफा र व्यवस्थित पसलबाट मात्र मासु खरिद गर्नु पर्दछ । राजविराज नगरपालिकामा संचालित अधिकांश फ्रेश हाउस डर्टी हाउसमा परिणत भएका छन् । लोकल, बोईलर र लेयर कुखुरा काट्दा त्यसबाट निस्कने प्वाँख, भुँडी, खुट्टा, टाउको जस्ता वस्तुहरू व्यवस्थापन गर्ने ठाउँको एकदमै अभाव देखिन्छ । फ्रेश हाउसहरूमा झिंगा भन्की रहेको पाइन्छ । झिंगाले विभिन्न रोग फैलाउन सक्ने भएकोले झिंगा नियन्त्रणको लागि अपनाउनुपर्ने उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ । कुखुरा मासुको उपभोक्ताका स्वास्थ्यसँग खेलबाड भई रहेको पाइन्छ । यस क्षेत्रमा भइरहेका यावतका विकृतिहरू हटाइनै पर्छ ।
रोग नलागेको स्वस्थ लोकल, बोईलर तथा लेयर कुखुरा मात्र बेचबिखन गर्न पाइने व्यवस्थालाई कडाईका साथ लागू गर्नु गराउनु पर्ने देखिन्छ । कुखुराको मासु सस्तो दरमा पाइने हुँदा आम उपभोक्ताले यो मासु बढी मात्रामा खरिद गर्ने गरेको पाइन्छ । बजारमा रोगी, मरेको खसी, बोका, कुखुराको मासु बिक्री भई रहेको पनि सुन्नमा आइरहेको हुन्छ । स्वास्थ्य र स्वादको लागि कहिल्यै पनि मरेको, रोगी, सडेगलेको माछा मासु सेवन गर्नु हुँदैन । जथाभावी वध गरेको तथा बिक्रीमा राखिएको मासु खानु हुँदैन । सदैव स्वस्थ र स्वच्छ माछा मासु मात्र उपभोग गर्नु पर्दछ । मासुको लागि स्वस्थ पशुपक्षीमात्र वध गर्नु पर्दछ । स्वस्थ माछा मासु उपभोक्ताकोे दैनिक आवश्यकताको विषय मात्र होइन, अधिकारको विषय पनि हो । वातावरण स्वच्छ नभएको, मापदण्ड पूरा नगरी उत्पादन गरिएको मासु बिक्री स्थानलाई सुधार गर्नु नितान्त आवश्यक देखिन्छ । फोहोर ठाउँमा वध गरिएको फोहोर वा अस्वस्थ मासुले रोग निम्त्याउनुका साथै फुड प्वाईजनिङ्ग भएर ज्यानै जाने जोखिम पनि हुन्छ । आधुनिक औषधी र प्रविधिद्वारा हुर्काइएको जनावरको मासुले मुटुरोग, मधुमेह, क्यान्सरजस्ता घातक रोग निम्त्याउँछ । पशुपंक्षीबाट मानिसमा सर्ने रोगहरुमध्ये क्षयरोग पनि एक हो । धेरै मानिसमा यी रोग पशुबाटै सर्ने गरेको छ । आम उपभोक्ता दूध, दही, मासुको सेवनप्रति सचेत छैनन् । कतिपयले काँचो दूधलाई नतताई दही बनाउने, पञ्चामृतमा काँचो दूधको प्रयोग गर्ने गरिएको पाइन्छ । दूध दिने चौपाया क्षयरोगी भए स्वतः दूध पिउने मानिसमा क्षयरोग सर्ने प्रवल सम्भावना हुन्छ । क्षयरोग ग्रस्त पशुको दूध राम्ररी नउमाली सेवन गरेमा तुरुन्त क्षयरोग लाग्न सक्छ । राजविराज नगरपालिकामा खान अयोग्य माछा मासु बिक्री गरेर नाफा कमाउने प्रवृत्ति बढेको छ । माछा मासु व्यवसायलाई कानुनको दायरामा ल्याएको पाइँदैन । उपभोक्ता खासगरी दूषित र गुणस्तरहीन मासु प्रयोग गर्न बाध्य बनाइएका छन् । मासु पसलहरु व्यवस्थित छैनन् भने व्यवस्थित बनाउने प्रयत्न समेत हालसम्म भएकोे पाइँदैन । मासु व्यवसायीले न्यूनतम आधारभूत मापदण्ड समेत पालना गरेको देखिदैन । फोहोर मासुजन्य पदार्थको कारणबाट रोग लाग्न सक्छ । यसको जिम्मेवारी कसले लिन्छ त ? कहीँ हामीले पोषणयुक्त आहारको सट्टा रोग निम्त्याई रहेका त छेनौं । अव्यवस्थित तथा अस्वस्थ माछा मासु बिक्री वितरण गर्ने व्यवसायी उपर प्रभावकारी अनुगमन गरी कार्यवाही गरिनु पर्दछ ।
२०७२ पौष ९ गते मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालय टुक्र्याएर गठन गरेको पशु पक्षी विकास मन्त्रालयले आम मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै कृषि उपजमा “आलीदेखि थालीसम्म” तथा दूधमा “गोठदेखि ओठसम्म” र मासुमा “वधशालादेखि पाकशालासम्म” स्वच्छता हुनुपर्ने अभियानलाई देशभर निरन्तर चलाउनुपर्ने देखिन्छ ।
व्यवसाय कारोबार गर्नको लागि सम्बन्धित निकायमा व्यवसाय कारोबार दर्ता गरी व्यवसाय कारोबार दर्ताको प्रमाणपत्र तथा आन्तरिक राजस्व विभागबाट जारी गरिएको स्थायी लेखा नम्बर दर्ता गरी प्रमाणपत्र लिएर मात्र व्यवसाय कारोबार गर्नुपर्ने कानुनी व्यवस्था हुँदा हुँदै पनि सप्तरीमा केही मासु पसलहरू दर्ता समेत नगरी संचालनमा आएको पाइन्छ । मासु पसल दर्ता समेत नगरी मासु व्यवसाय गर्ने व्यवसायीलाई राजस्व (कर) छली गरेको अभियोग लगाई सरकारले अविलम्ब कानुनी कार्यबाही गर्नु पर्दछ ।
नेपालमा सुन्दर योजनाहरू त बन्ने तर कार्यान्वयन हुन नसक्ने अवस्था रहँदै आएको एवं सरकारले कानुन बनाउन कन्जुश्याइँ नगरे पनि सो अनुरूप कार्यान्वयनमा कडाई गर्न नसकेको अवस्था अन्त्य गर्न तथा बलियो कार्यान्वयनको लागि राजविराज नगरपालिकाले नगरको निश्चित क्षेत्रमा पशु वधशाला स्थापना गरी सोही ठाउँमा मात्र पशुपक्षी वध गरिनुपर्ने गरी संचालन गर्नु गराउनुका साथै पशुपक्षी वध गर्नु पूर्व रोग लागेको छ वा छैन भनेर परीक्षण गराउनुपर्ने, मानिसले खान योग्य पशुको मासु बिक्री गर्ने बिक्रेताले अनिवार्य रूपमा ईजाजत लिनुपर्ने, पशु वधशालाको नियमित अनुगमन तथा निरीक्षण हुनु पर्ने एवं कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको वर्तमान पशु वधशाला र मासु जाँच ऐन, २०५५ एवं पशु वधशाला र मासु जाँच नियमावली, २०५७ मा भएको प्रावधानहरूलाई कडाईका साथ कार्यान्वयनमा ल्याइनु पर्ने देखिन्छ ।
लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन, सप्तरीका अध्यक्ष हुनुहुन्छ ।