• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेशका जिल्लाहरुमा आज चौरचन पर्व मनाईदै

राजविराज, १९ भदौ । मधेशका जिल्लाहरुमा आज चौठचन्द्र अर्थात चौरचन पर्व मनाईदैछ ।
विशेष गरी तराई जिल्लामा मनाइने यो पर्वमा साँझ ब्रतालुहरुले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिनेछन् । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पुजा गर्न थालिएको धार्मिक जनविश्वास रहिआएको छ । यस पर्वमा चामल र गहँुको पीठोका विभिन्न पकवान बनाउनुका साथै फलफूल, मिठाईका परिकार र दही पूजा सामग्रीका रुपमा प्रयोग गरिन्छ । यस पर्वमा हरेक परिवारले आफ्नै तरीकाले उदाउँदो चन्द्रमालाई अर्घ गर्छन् ।
माटोको भाडोमा राखेर तयार पारिएको दही यो पर्वको लागि उपयुक्त मानिन्छ । आजैको दिन आ–आफ्ना मित्रहरुलाई घरमा बोलाएर भोजन गराउने परम्परा अझैं यथावत छ । चौठीचाँद बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनकालागि ब्रतालु महिलाले पुरी तथा खीर बनाउनकालागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राखिने चलन रहेको छ ।