श्यामसुन्दर यादव
राजविराज, १७ भदौ । जिल्ला प्रहरी कार्यालय सप्तरीको मुख्य गेटमै ‘सेवाग्राही स्वागत’ भनी नारा लेखिएको छ । मुस्कानसहितको प्रहरी सेवा आदि ईत्यादी नाराहरु प्रचारमा ल्याएको छ । यतिमात्र होइन हाल सप्तरी जिल्लामा समेत प्रहरी मेरो साथी भन्ने अभियान सञ्चालन भईरहेको छ । तर सप्तरी प्रहरीको कार्यशैली मुखमा राम राम बगलीमा छुरा जस्तै भएको छ ।
सन्दर्भ जिल्ला प्रहरी कार्यालय र सेवाग्राही बीचको । शुक्रवार दिनको करिब दुई बज्दै थियो । सूचना संकलनकालागि जिल्ला प्रहरी कार्यालय पुगेको थिए । त्यसै क्रममा सप्तरीको फूलकाही गाउँबाट रामकुमार साह नाम गरेका व्यक्ति हातमा निवेदन लिएर भौतारिहेका थिए । उसले मलाई लेनदेन सम्वन्धि एउटा निवेदन दिन आएका रहेछन् । पत्रकार सम्मेलन बाहेक जिल्ला प्रहरी कार्यालय नछिर्ने भएका कारण त्यहाँ कार्यरत ईन्सपेक्टर वा सई, असई चिन्दिन । सेवाग्राही साहले मलाई आग्रह गरेपछि उनीसँगै कन्ट्रोलमा सोध्न गएँ ‘मुद्दा शाखा कहाँ छ ? भनी सोध्दा पल्लो कोठामा जान टेलिफोन रिसिभ गर्ने प्रहरीले जवाफ दिए । उनीसँगै मुद्दा फाँटमा गएँ । त्यहाँ एक जना प्रहरी कागज तयार गरिरहेका थिए । एकछिन प्रतिक्षा गरेँ । अनि सेवाग्राही साहले निवेदन हातमा दिए । उनले एकछिन निवेदन पढेर जवाफ दिए ‘तपाई माथिल्लो तल्लामा सिधै जानुस् ईन्सपेक्टर साब बस्नुहुन्छ, वहाँलाई देखाउनुस ।’
उनीसँगै माथिको कोठा छिर्दा पंखा चलिरहेको थियो । कुर्सी खाली थियो । यताउती हेरें । अनि खड्का ईन्सपेक्टर साब कहाँ हुनुहुन्छ ? डियुटीमा रहेका प्रहरीले ‘यतै कतै हुनुहुन्छ होला ।’ छेउको कोठामा डिएसपी दानबहादुर कार्की दुई तीन जना मोटाघाटा मान्छेसँग कुरामा व्यस्त थिए । उनको नजर मतिर पर्दा मैलै ‘नमस्कार’ भने । उनले नदेखै झैं गर्यो । फेरी तल झर्यौं । ईन्सपेक्टर खड्का सरलाई खोज्दै फेरी कन्ट्रोलमा सोध्न गयौं । अनि ‘छेउँको कोठामा हुनुहुन्छ होला’ भनेपछि फेरी छेउको कोठामा खोज्न जाँदा पनि उनलाई भेट्न सकेनौं । त्यसपछि अर्का एक जना ईन्सपेक्टर कन्ट्रोल रुममा बसिरहेका थिए । आग्रह गर्दा उनले निवदेन हेरेर उनले भने ‘लेनदेन गर्ने बेलामा आफूखुशी गर्ने अनि नतिरेपछि हामी प्रहरीलाई हैरान गर्ने ? हप्काउँदै भने ‘यसको ठेक्का प्रहरीले लिएको छैन ।’ मैले आग्रह गर्दै भने ‘घर–घरायसीमा नमिलेपछि त सर्वसाधारण सहयोग माग्न प्रहरीमा आउँछन, त्यहि भएर सहयोग गरिदिन्होस न ।’ अनि ईन्सपेक्टरले हामीले यस्तो मुद्दा हेर्न मिल्दैन, एकचोटी डिएसपी साबसँग सल्लाह गर्नुपर्छ ।’ भनी सल्लाह दिएपछि माथिल्लो तल्लाको डिएसपी कार्की साबको कोठातर्फ हुइँकियौ ।
कोठामा त्यहि मोटाघाटा अपरिचित मान्छेहरु सोफामा लम्पसार परेर कुराकानी गरिरहेका थिए । कतिबेला उनीहरु निस्किन्छन् र हामी जाऔंला भनी गेटमा कुरिरहेका थियौं । त्यतिकैमा सात–आठ जनाको युवाहरुको हुल भित्र प्रवेश गर्यो । हामी छेउँको पत्रकार सम्मेलन गर्ने गरिएको कोठामा एकछिन प्रतिक्षा गर्यौं । उक्त हुल बाहिरिएपछि पीडित साहसँगै डिएसपी कार्कीको कोठामा पस्यौं । छेउको पूर्वपट्टीको सोफामा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव हितनारायणलाल दास र मैले नचिन्ने दुईजना अन्य महानुभाव थिए । म ‘नमस्कार’ भन्दै पश्चिमतर्फको कुर्सीमा बसेँ ।
पीडित साहले हातमा रहेको निवेदन डिएसपी कार्कीतर्फ बढाएको के थियो उनले निवेदन सिधै फाल्दै भने ‘के हो यो, तल जानुस, यहाँ कुनै सिस्टम छैन ? जानुस् यहाँबाट । केही सेकेण्ड बिचरा सेवाग्राही साह अक नबक भए । मैले भने ‘सर, हामी तलबाटै आएका हौं, एक मिनेट कुरा त सुन्दिनुस् ।’ भन्न नपाउँदै उनले झोंक्किएर भने ‘सिधै यहाँ आउने ठाउँ हैन यो, निवेदन हाम्रो कर्मचारीले ल्याउँछ ? मैले फेरी भने ‘सर, सेवाग्राहीको कुरा त सुनिदिनुस् न, । अनि फेरी जङ्गिदै डिएसपी कार्कीले मलाई ईङ्गित गर्दै भने ‘तपाई किन बीचमा बोल्नु हुन्छ ? मैले ‘म यहाँको जनता हुँ’ भनेपछि आँखा रातो पिरो गर्दै उनले सेवाग्राही साहलाई आदेशात्मक शब्दमा भने ‘तल जानुस् ।’
हिजो मात्रै जिल्ला विकास समितिमा सामुदायिक प्रहरी सेवा केन्द्रको अधिवेशनको नाममा चन्दा माग्ने क्रममा हात मिलाएका उनको शैली देखेर भित्रभित्रै रिस उठिरहेको थियो । तर ब्लड प्रेसर सम्बन्धि समस्याले गर्दा आफैलाई सम्हाल्न खोजेँ । त्यहाँ उपस्थित जिल्लाका गण्यमान्य व्यक्तिहरु रेडक्रसका सभापति भगत, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव दास समेत चुइँ शब्द बोल्न सकेन । ‘सेवाकोलागि यहाँलाई धन्यवाद’ भन्दै बाहिरिए । तल झरेपछि कन्ट्रोलमा बसेका प्रहरीले साहलाई आएर झोंक्किदै भने ‘माथि किन जानुभो ? हाम्रो टु सर रिसाउनु भा’ छ ।’ अनि मैले भने ‘तपाई आफ्नो काम गर्नुस् भन्दै हामी बाहिरियो ।
जिल्ला प्रहरी कार्यालयको गेटमा आएपछि त्यहाँ लेखिएका कथित नाराहरु सेवाग्राहीलाई स्वात….आदि ईत्यादी हेर्दा भित्रभित्रै हाँसो पनि उठ्यो । यो कस्तो मुस्कानसहितको सेवा ? यो कस्तो अभियान प्रहरी मेरो साथी ? इत्यादी प्रश्नहरु मनमा खेलाउँदै करिब दुई महिना अघि उनले पुरानो भवनमा रहेका एक प्रहरीलाई भनेको कुरा ‘…..तोरी लाहुरे नेतालाई भित्र छिर्न नदिनुस्’ त्यही सम्झें । फेरी सम्झें मधेश आन्दोलनमा चर्का नाराबाजी गर्ने मधेशवादी दलका केही नेताहरु समेत प्रहरी मेरो साथी भेस्ट लगाएर चर्का नारा लगाउने गरेको दृष्य सम्झिन पुगें ।
यी त भए जिल्ला प्रहरी कार्यालयमा सेवाग्राहीसँग गर्ने प्रतिनीधिमूलक उदाहरण । करिब साढे चार बजेको समयमा सेवाग्राहीसँग प्रहरी अधिकृतले गरेको व्यवहारको विषयमा रेडक्रस सप्तरीका सभापति भगतले भने ‘डिएसपी साबको स्वाभावै यस्तै छ, वहाँको शैली घोर निन्दनीय र अमानवीय छ ।’ त्यहाँ तपाई किन बोल्नुभएन ? भनी प्रश्न गर्दा समाजसेवी भगतले ‘त्यहाँ के बोलुँ, वहाँको मुड गरम थियो, वहाँको व्यवहार र शैली अव्यवहारिक र अस्वाभाकि थियो ।
जिल्ला प्रहरी कार्यालयमा न्यायकालागि गुहार माग्न जाने सर्वसाधारण जनताले दैनिकजसो यस्तै व्यवहार झेल्नुपरेको छ । एकातर्फ प्रहरीको ‘प्रहरी मेरो साथी अभियान’ र अर्कोतर्फ मुस्कानसहितको सेवा दिने कार्यालयका अधिकृत नै सेवाग्राहीलाई सेवा दिनुको साटो हप्काएर पठाउँछन् । प्रहरी अधिकृत कार्कीको व्यवहार र शैलीबाट कहिलेसम्म सप्तरीवासी पीडित भईरहने हो ? जिल्लाका बुद्धिजिवीहरुको प्रश्न छ ?