• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मतअभिमत

गुरिल्ला क्याम्पका लडाकु मुन्ना भन्छन् ‘राजनीतिमा नातावाद कृपावाद हावी’

गुरिल्ला क्याम्पका लडाकु मुन्ना भन्छन् ‘राजनीतिमा नातावाद कृपावाद हावी’

श्यामसुन्दर यादव । करिब साढे चार दशक लामो समयसम्म राजनीति तथा साँस्कृतिक अभियानमा लागेका ६२ वर्षीय राजेश शाही मुन्ना’ वर्तमान अवस्थाको राजनीतिबाट विरक्तिएका छन् ।
निष्ठा एवम् इमान्दारिताको राजनीतिमा पसेको विकृतिका कारण उनी वर्तमान अवस्थाको राजनीतिबाट विरक्तिएका हुन् । साँस्कृतिक अभियन्ता स्व. विष्णु वहादुर खड्गी र राममाया खड्गीका सुपुत्र उनी कक्षा ५ मा अध्ययनरत रहँदादेखि नै विशेश्वर प्रसाद कोइरालाबाट प्रभावित भई विद्यार्थी आन्दोलनतर्फ होमिएका थिए । कुशल बाँसुरी बादकका छोरा मुन्ना राजनीतिको बाँसुरी बजाउन गए पनि नातावाद्, कृपावाद् र उच्च जातीय अहंकारका कारण सफल हुन सकेनन् ।
काँगे्रसका नेता स्व. शिव मधुकरले वि.पी. कोइरालाको जतिबेला पनि गुनगान गर्नुका साथै उनकै विषयमा कवितासमेत लेखेर सुनाउने गर्दा आफुलाई राजनीति प्रतिको मोह बढेको उनले सुनाए । आफु सानै भएपनि शिव मधुकर अलि सिनियर भएका कारण उनले भनेका कुराहरु मानेर राजनीतिक गतिविधिहरुमा सहभागी हुने गरेको सम्झिँदै उनले भने, पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयबाट २०२८ सालमा एसएलसी परीक्षा दिई सकेपछि राजनीतिक गतिविधि तथा भेंटघाट गर्ने थलोको रुपमा स्टुडेन्ट फ्रेन्ड्स क्लव गठन गरेर २ केन्द्रमा राख्यौं । सोही क्लवमा शिव मधुकर समेत आफुहरुसँगै रहेर राजनीतिका कुराहरु गर्नुका साथै संगठन विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको उनले बताए ।
फ्रेन्ड्स क्लवमा रमेश राजवाहक गङ्गे, मुरारी उपाध्याय, अनिस अन्सारीलगायतका युवाहरुको आवद्धता रहेको सम्झिँदै उनले भने, प्रहरीलाई हामीहरुको जमघट सही नसक्नुभयो, मसहित साथीहरुलाई निर्घात कुटपीट गर्यो, तर हामीले हिम्मतलाई कम गरेनौं, झन उग्र भयौं। २०३३ सालमा विशेश्वर प्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको तथा उनी नेपाल फर्किनुअघि पटनाको आरके ब्लकमा आयोजित बैठकमा स्व. गणेशमान सिंह, स्व. कृष्णप्रसाद भट्टराई, स्व. गिरिजाप्रसाद कोइरालालगायतका वरिष्ठ नेताहरुले आफुहरुलाई नेपाल फर्किन निर्देशन दिएको उनले सम्झना गरे ।

रामराजाले भाषणमा भन्ने गर्दथे, कोशीमा पानीको सट्टा रगत बग्नेछ, खेत खलिहानमा कार्तुस उब्जिनेछ, आँपको रुखमा आँप फल्नुको सट्टा बम फल्नेछ, उनका भाषण सुनेपछि जोकोहीको शरीरमा रगत उम्लिन थाल्थ्यो ।

भारतको पटनाबाट नेपाल फर्केपछि स्व. रामराजा प्रसाद सिंहले अनारसिंह कार्कीमार्फत भेट्नका लागि आफुसहित शिव मधुकर, हरिबहादुर राज, जगरनाथ दास, प्रदिप जोन्छे, पी. बरुवालगायतका युवाहरुलाई सन्देश पठाएको उनले बताए। भूमिगत अवस्थामा रहेका रामराजाबाबुसँग भेंट्न हामीहरु मुजफ्फरपुर पुग्यौं, पटनाबाट उनी आए, शाहीले थपे, फस्ट क्लास वेटिङ्ग रुममा कैयौंदिनसम्म बसेर व्यापक छलफल गर्यौं, सोही छलफलबाट जनवादी मोर्चाको गठन भयो । अध्यक्ष रामराजा बाबु र उपाध्यक्ष अनारसिंह कार्कीसहितको मोर्चा गठन भएको उनले जानकारी दिए ।
नेपाली काँग्रेसले राम्रा तथा इमान्दार कार्यकर्ताहरुलाई वास्ता गर्न छाडेपछि पहाडी तथा मधेशका जिल्लाहरुबाट समर्पित कार्यकर्ताहरु जनवादी मोर्चातर्फ लागेको सम्झिदै उनले भने, भारतको वैद्यनाथधाम जाने बाटोमा सिमुलतल्ला जेसिडी भन्ने ठाउँमा जनमोर्चाको तीन वटा गुरिल्ला क्याम्पमा सामेल भएँ, त्यहाँ हतियार चलाउने तथा वैचारिक प्रशिक्षणहरु सञ्चालन हुन्थे, त्यसमा मैले पछि नेपालतर्फबाट मान्छे पठाउने जिम्मा मैले पाएँको थिएँ ।
जनवादी मोर्चामा संगठन विस्तारसँगै प्रवक्ताको जिम्मेवारी राम कार्कीले पाएको तथा जिम्मेवार तहमा शाकेत मिश्र, दिलिप चौधरी, जगरनाथ दास, शिवजी थापा, उमेश कुमार साह ‘कमाण्डो’ लगायतका रहेको उनले बताए । ०३६ सालको जनमत संग्रहमा नेपाल विद्यार्थी संघमै रहेर मोर्चाको काम गर्ने आफुहरुको मुख्य उद्देश्य रहेको बताउँदै उनले भने, रामराजाले भन्ने गर्दथे तरबारको धारले क्रान्ति हुन्छ तर उक्त कुरामा काँग्रेस सहमत थिएन, मलाई र शिवमधुकरलाई कृष्णप्रसाद भट्टराईले रामराजाको कुरा पुरा नहुने भन्दै काँग्रेसमै लाग्न आग्रह गरेपछि शिवमधुकर लागे तर म भने गइँन ।
त्यसपछि काँगेस र जनवादी मोर्चाको दूरी बढ्दै गयो । मोर्चामा रहेका शाकेत मिश्र भने अन्य युवाहरुभन्दा बढी क्रान्तिकारी रहेको अतित सम्झिदै उनले भने, क्रुर पञ्चायती शासन चलिरहँदा पनि तिलाठीबाट हतियारै बोकेरै राजविराज आउँथे । रामराजा प्रसाद सिंहको भाषण सुन्न नेताहरुसमेत लालायित रहने गरेको तथा पर्चामा लेखिएका कुराहरु त्यतिबेला पाँच सय रुपैयासम्ममा बिक्री हुने गरेको जानकारी दिँदै शाहीले भने, त्यतिबेला रामराजाले भाषणमा भन्ने गर्दथे, कोशीमा पानीको सट्टा रगत बग्नेछ, खेत खलिहानमा कार्तुस उब्जिनेछ, आँपको रुखमा आँप फल्नुको सट्टा बम फल्नेछ, उनका भाषण सुनेपछि जोकोहीको शरीरमा रगत उम्लिन थाल्थ्यो ।
जनमोर्चाको प्रभाव बढ्दै गएपछि प्रहरी प्रशासनले गिरफ्तार गर्ने कार्यलाई तिब्रता दिए। सोही क्रममा उनीसहित अनारसिंह कार्की अमर प्रधान र दिलिप चौधरीलगायतका पक्राउ परे। सोही समयमा बिराटनगरमा काँगेस र कम्युनिष्ट कार्यकर्ता बीच झडप हुँदा तत्कालिन युवा नेता विजकुमार गच्छदारलाई राजविराज कारागारमै ल्याएर लेडिज क्वाटरमा राखिएको सम्झिदै उनले भने, क्षेत्रीय अदालत धनकुट्टाको आदेशमा राजविराजबाट गच्छदार र अनारसिंह कार्कीलाई काठमाण्डौको सेन्ट्रल जेल पठाइयो, यता मदनमोहन चौधरी, कैलाश कार्कीलगायतकालाई समेत तत्कालिन अञ्चलाधीस समशुल हकले पक्राउको पत्र पठाए ।
२०४२ सालको उपनिर्वाचनका क्रममा आफूहरु प्रचार–प्रसारमा कञ्चनपुरमा रहँदा असोज ५ गते विभिन्न स्थानमा बम ब्लाष्ट भएको तथा डिएसपी रुपक शर्मा अपहरणमा परेको उनले आफ्नो संस्मरण सुनाए । सञ्चारमाध्यमको उपलब्धता नभएका कारण सूचनाहरु थाहा हुँदैनथ्यो, उनले भने, उक्त घटनाको जिम्मेवारी रामराजाबाबुले लिएको कुरा असोज ९ गते बीबीसी रेडियोबाट मात्र थाहा पायौं । त्यसपछि आफूहरुमाथि शुट वारेन्ट जारी भएपछि लामो समयसम्म भारतमै निर्वासित जिवन बिताउनुपरेको शाहीले बताए । २०४५ सालमा सर्वोच्चको आदेशबाट आफूहरुमाथि लागेको सुटवारेन्ट हटाइएपछि मात्र नेपाल फर्केको उनले आफन राजनीतिक अनुभव सुनाए ।
यी त भए शाहीको राजनीतिक जीवनको अनुभव। सप्तरी जिल्लाको साँस्कृतिक क्षेत्रमा समेत उनको ठूलै योगदान रहेको छ। बाँसुरीवादक एवम् साँस्कृतिक अभियन्ता बुवा विष्णु वहादुर खड्गीको साँस्कृतिक मोहबाट प्रभावित भएर उनलेसमेत कलाक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका छन् । कक्षा ४ मा पढ्दा भोजपुर घर भएकी महालता उपनामले परिचित गायिकालाई महेन्द्र परियारले पटक–पटक साँस्कृतिक कार्यक्रमहरुमा बोलाउने गरेको सम्झिदै उनी भन्छन्, लता मङ्गेशकरको टु कपी गाउने गरेकोले महालता भनेर परिचित उनले गाएको ‘कहाँको आकास पताल हामीलाई चुम्बन देला, कहाँको तिमी हामी मायाले झस्काइदेला’ बोलको गीत अहिले पनि याद छ ।
आफ्नो सानो बुवा विष्णु मास्टर बाद्यवादक मात्र नभई गीत लेख्ने, तथा गाउने काम गरेको बताउँदै त्यतिबेला शंकर दिपक, कमल प्रधान, डा. लालसमेतका व्यक्तिहरुले टिमको नेतृत्व गर्ने गरेको उनले जानकारी दिए । उक्त समुहमा शिवनारायण परियार, राजदेव सिंह, कमल प्रधान, विश्वराज शर्मा, द्वारिका शर्मा, माधव थापालगायतका थिए भने महिला कलाकारमा साबित्री शर्मा, गायत्री शर्मा, बिमला पराजुली, निर्मला, निरा शाहीलगायतका थिए। काठमाण्डौमा आयोजना हुने ‘नेशनल किङ्ग शो’ मा प्रायः सप्तरी प्रथम हुने गरेको बताउँदै शाहीले भने, मलाई बाँसुरी बजाउने ठुलो शौख थियो, मैले पनि बजाउन थाले ।
साँस्कृतिक क्षेत्रमा बुवाको पनि यति ठूलो शौख थियो कि पचास हजार रुपैयाँभन्दा बढीको पोशाक मेरो घरमा हुन्थ्यो, त्यतिबेला वहाँहरुले राजविराजमा मैथिली कार्यक्रमबाहेक लाखे नाचलगायतका परम्परागत कार्यक्रमहरु पनि गर्नुहुन्थ्यो, उनले भने, राजविराजमा प्रायः डेढमहिना रामलीला हुन्थ्यो, कला मन्दिरमा कलाकारहरुलाई राखेर सिकाइन्थ्यो, त्यतिबेला चम्बल घाँटीका लुटेरा भन्ने नाटक म अहिले पनि सम्झिन्छु । जगरनाथ दास ज्वाला सिंह (डाकुको सरदार), डाकु शम्शेर सिंहको भूमिकामा आफू, हिरोइनको भूमिकामा विश्वनाथ दास, फिरोज खान, राम मोची लगायतका व्यक्तिहरुले अभिनय गरेको बताए । नाटकको निर्देशकमा कमल प्रधान तथा सह–निर्देशकमा हरिबहादुर राज रहेको तथा अंग्रेजको भूमिका जिवन श्रेष्ठ, हवल्दार श्रीलाल देव, राजदेव सिंह, पूर्ण खड्गी, सत्यनारायण चौधरी, सुशील सेवा परिवारलगायतको भूमिका अविस्मरणीय रहेको उनले जानकारी दिए ।
जिल्लाको साँस्कृतिक गतिविधिमा विष्णु मास्टर, रामचन्द्र झा, शंकर दीपकलगायतका गुरुहरुसँगै रहेर दर्जनौं कलाकारलाई सिकाउने तथा प्रतियोगितामा उतार्ने काम गरेको उनले बताए । स्टेजमा आउन नचाहने अवस्थामा छोरीहरुलाई सिकाएर राष्ट्रियस्तरको कार्यक्रमहरुमा प्रथम भएको शाहीले अतित सम्झे ।
लोकतन्त्रकालागि संघर्ष गर्नेहरुलाई सम्मान दिनुपर्नेमा जोड दिँदै उनले भने, आजको दिन आउनका लागि विगतमा पनि धेरैको योगदान छ, समयमै उपचारको अभावमा शिव मधुकर जस्तो व्यक्तित्वले मृत्युवरण गर्नुप¥यो । मृत्यु पर्यन्त पनि उनीजस्तालाई सम्मान गरिएन । त्यसैले हामीले केही नसकेपनि योद्धाहरुलाई सम्मान चाहीँ दिनैपर्छ ।