वीरगञ्ज, १ भदौ । प्रतीक दैनिकको ३० औं वार्षिकोत्सवको अवसरमा बुधवार सुबोध स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलगायतका कार्यक्रमहरु सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले वार्षिकोत्सव कार्यक्रममा आयोजित सुबोध स्मृति पत्रकारिता पुरस्कार विजय चौहानलाई प्रदान गरिएको छ । यसवर्षदेखि २५ हजार धनराशीको सो पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि घिमिरेले वीरगञ्जबाट प्रकाशित पत्रिकाहरुमा प्रतीकले आफनो छुट्टै पहिचान बनाएको र सो पहिचानलाई ३० वर्षसम्म कायम राख्न सफल भएकोमा प्रशंसा पनि गरे ।
उनले मर्यादित र जिम्मेवारपुर्र्ण पत्रकारितालाई प्रतीकले अंगालेको कारण यसमा प्रकाशन हुने समाचारलाई प्रहरी प्रशासनले गम्भिरतापुर्वक लिंदै आएको बताए । प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष धु्रव साह, प्रतीक दैनिकका स्तम्भकार श्रीमन नारायणले मनतव्य व्यक्त गरे । कार्यक्रममा प्रतीक दैनिकका समाचार सम्पादक आरके पटेल र पुरानो स्तम्भकार श्रीमन नारायणलाई कार्यक्रमका अतिथि समाजसेवी विश्वनाथ साह र वीरगंजस्थित भारतीय महावाणिज्यदुतावासका वाणिज्यदुत कृष्ण चैतन्यले पुरस्कृत गरे ।
यसैगरी अञ्चल प्रहरी कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरिक्षक नारायण सिंह खडकाले प्रतीक दैनिकमा पाठक प्रतिकृया लेख्दै आएका डा. शिवशंकर यादवलाई प्रशंसा पत्रले सम्मान गरे । कार्यक्रममा प्रतीक दैनिकका अर्का स्तम्भकार इन्जिनियर गोपाल श्रेष्ठले प्रकाशन गरेको समसामयिक लेख पुस्तकको वीरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णु कोइरालाले विमोचन गरे ।
कार्यक्रममा स्वागत पंकज श्रेष्ठले कार्यक्रममाथि प्रकाश डा. बासुदेवलाल दासले गरे भने सहजीकरण प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपालले गरे ।