राजविराज, १ भदौ । जनहितको विषयमा छलफल गर्न सरकारी ढुकुटी खर्चेर रिसोर्ट घुम्न जाने राजधानीको प्रवृत्ति अब स्थानीय स्तरमा पनि फैलिन थालेको छ । ‘जनकल्याणका लागि कि मनोरञ्जनका लागि धुलिखेल रिसोर्ट?’ भन्नेमा जारी बहसले त्यस्तो प्रवृत्तिमा सुधार आउनुको सट्टा झन तल्लो स्तरमा सर्न थालेको उदाहरण सप्तरी जिल्ला विकास समितिको बालमैत्री समितिमा देखिएको छ ।
राजविराजमा बालमैत्री शासनसम्बन्धी विषयमा काम गर्न एक जिल्ला बालमैत्री समिति गठित छ । समितिका सदस्यहरु आफ्ना कामकुरा गर्न जिल्लाका गाउँठाउँ छाडेर भेडेटार पुगेका छन् । भेडेटार पुगेका समितिका सदस्यहरुले आफूले त्यहाँ मौजमस्ती गरेको तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि बालमैत्री समिति निमुखा बालबच्चाको हितका लागि काम गर्न बनेको हो वा मौजमस्तीका लागि अखाडा बनेको हो भन्ने प्रश्न उठन थालेको छ । 
जिल्ला बालमैत्री स्थानीय शासन समितिका पदाधिकारीकालागि बालमैत्री स्थानीय शासन सम्वन्धि दुई दिने अभिखिकरण मङ्गलवारदेखि आयोजना गरिएको थियो । युनिसेफको सहयोगमा जिल्ला विकास समिति सप्तरीले उक्त कार्यक्रम भेंडेटारमा आयोजना गरेको हो । कार्यक्रम सप्तरी जिल्लामै हुनसक्ने भए पनि घुमघाम र रमाईलो गर्नकालागि नै सप्तरीभन्दा बाहिरको उपयुक्त शीतल ठाउँ भेडेटार रोजिएको एक सहभागीले बताए ।
त्यसो त सप्तरी जिल्लालाई राज्य पक्षले त उपेक्षा गरेको छ नै । जिल्लाको विकास तथा सामाजिक रुपान्तरणको जिम्मा पाएका व्यक्तिहरुले समेत मौजमस्तीको नाममा सप्तरीलाई उपेक्षा गरेको छ । दातृ निकायका पदाधिकारी, सरकारी कर्मचारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरुको सहभागितामा जिल्ला बाहिर कार्यक्रम हुनु दुर्भाग्यपूर्ण भएको नागरिक समाजका अगुवाहरुको टिप्पणी छ । 
सदरमुकाम राजविराज वा जिल्लाकै कुनै ठाउँमा कार्यक्रम आयोजना गरिएको भए जिल्लालाई माया गरेको बुझिन्थ्यो तर अन्यत्र कार्यक्रम गरेर गैरजिम्मेवारीपना प्रस्तुत गरेको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । जिल्लामै कार्यक्रम आयोजना गरेको भए स्थानीय होटलव्यवसायी, स्टेशनरी व्यवसायी आदिलाई केही लाभ हुन्थ्यो तर सप्तरीको लागि आएको रकमले सरोकारवालाहरु नै जिल्ला बाहिर गएर मौजमस्तीमा उडाउनु घोर निन्दनीय कार्य भएको उनले बताए । उनले भने ‘सुख सुविधा र मौजमस्तीका नाममा यसरी सप्तरी जिल्लालाई सरोकारवालाहरुले नै उपेक्षा गर्दै गएपछि जिल्लाको विकास कसरी हुन्छ ?’
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत जनक कोइराला, दातृ निकाय युनिसेफका जिल्ला प्रमुख अशोक झा, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झा, जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नवराज खड्का, जिल्ला खानेपानी खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र कुमार यादव, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, जिल्ला विकास समितिकै कर्मचारी किशोर झा, राजेश झा, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गलगायतका प्रमुखहरुको सहभागितामा सप्तरीका बालबालिकाका लागि भविष्यको योजना कोर्न भेला भएकोबाट प्रष्ट हुन्छ । यहाँ पद र कुर्सीमा भए पछि जे गरे पनि हुन्छ । उक्त कार्यक्रममा करिब तीन लाख रुपैयाँ भन्दा बढी खर्च भएको श्रोतले जनाएको छ । 
त्यसो त कार्यक्रमका सहभागीहरु भेंडेटार पुगेर अधिकांश समय घुमघाममै बिताएका कुराको पुष्टि उनीहरुले नै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विरहरुबाट पुष्टि भएको छ । कार्यक्रमको दोस्रो दिन पनि सहभागीहरुले अधिकांस समय मन्दिर घुमघाम, भ्यू टावर अवलोकन, नमस्ते झरनामा नुहाएर आनन्द लिँदै गरेको दृष्यहरुले नै पुष्टि गरेको छ ।
दातृ निकायको सहयोगमा जिल्ला कार्यरत संघ–संस्थाहरुले सप्तरीको कार्यक्रम सिरहाको लहान, ईटहरी, सिन्धुली, उदयपुर, भेडेटारलगायतका ठाउँहरुमा जाने प्रवृति बढेको छ । सप्तरीको विकास विरोधी कार्यलाई तत्काल नरोकिए जिल्लावासीकैलागि दुर्भाग्यपूर्ण हुने भएकोले सप्तरीका आमजनताको नाममा आएको रकम मोजमस्तीका नाममा अन्यत्र जिल्लामा गएर उडाउने संघ–संस्था वा व्यक्तिलाई कार्वाही हुनुपर्ने बुद्धिजिविहरुको तर्क छ ।

