राजविराज, ३२ साउन । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको विवाद समाधान साधारण सभाबाटै हुने ठहर गर्दै सङ्घीय प्रेस फोरमले साधारण सभाकालागि पहल गर्ने निर्णय गरेको छ ।
सङ्घीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा मङ्गलवार राजविराजमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको वर्तमान समस्याको समाधान एक मात्र उपाय साधारण सभा भएको संघीय प्रेस फोरमले ठहर गर्दै साधारण सभाको माग गर्ने निर्णय गरेको अध्यक्ष यादव र सचिव जितेन्द्र कुमार झाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभाकालागि पहल गर्न अध्यक्ष यादव र सचिव झालाई जिम्मा दिने सर्वसम्मत निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यसमितिमा रहेका सङ्घीय प्रेस फोरमका जिल्ला उपाध्यक्ष बृजमान तामाङ्ग र सदस्य भूषण सिंहलाई महासंघ शाखाको साधारण सभाको पक्षमा स्पष्ट धारणासहित कार्यसमितिलाई सहयोग गर्न बैठकले सर्वसम्मत निर्णय गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
यसैगरी तेस्रो मधेश आन्दोलनको वार्षिकीको अवसरमा सङ्घीय समावादी फोरम नेपालले घोषणा गरेको साताव्यापी कार्यक्रम अन्तर्गत भदौ ७ गते विहान राजविराज स्थित रक्तसञ्चार केन्द्र परिसरमा प्रेस फोरम सप्तरीले रक्तदान कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ ।