• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छ महिनाभित्र अञ्चल अस्पतालको अवस्थामा सुधार ल्याउनेछुः सभापति ठाकुर

छ महिनाभित्र अञ्चल अस्पतालको अवस्थामा सुधार ल्याउनेछुः सभापति ठाकुर

राजविराज, ३० साउन । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदिय समितिकी सभापति रञ्जु झा ठाकुरले राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्थालाई ६ महिनाभित्र सुधार ल्याएर देखाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
राजविराजमा आइतवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् । अञ्चल अस्पतालको समस्याहरु क्रोनिक जस्तै भएको बताउँदै उनले भनिन् ‘अस्पताल समस्यै समस्याले जकडिकएकोले ती समस्याहरुलाई समाधान गर्दै ६ महिनाभित्र अस्पतालमा ल्याउन जस्तोसुकै संघर्ष गर्न प्रतिवद्ध छु ।’ अस्पतालको दुरावस्था दलहरुको चुनावी एजेन्डा बने पनि हालसम्म समस्याको समाधान हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले अस्पतालको सुधारकालागि सबैपक्षसँग आग्रह समेत गरिन् ।
सिङ्गो सगरमाथा अञ्चलका जनतालाई लक्षित गरी स्थापना गरिएको अस्पतालको यस्तो गति हुनुमा स्थानीयवासिन्दा समेत जिम्मेवार रहेको बताउँदै उनले भनिन् ‘यो अस्पतालमा दुई दशक अघि सुत्केरी गराउन आएको अवस्था र हालको अवस्थामा खासै अन्तर छैन ।’ सर्वसाधारणले अस्पतालमा गुणस्तरीय सेवा सुविधा पाउने अवस्था नरहेको बताउँदै उनले भनिन् ‘तीन महिनाभित्र नयाँ एम्बुलेन्स आउँदैछ, दरबन्दी अनुसारको दक्ष चिकित्सक, ईसिजी, आइसियुलगायतका सेवाहरु समेत सञ्चालन गर्न प्रयासरत छु तर उचित वातावरण बनाउन सप्तरीवासी जिम्मेवार बन्नुपर्छ ।’
राम्रा चिकित्सकहरु अस्पतालमा आए पनि उचित वातावरणको अनुभुती नपाएपछि अन्यत्र आकर्षित हुने गरेकोप्रति सभापति ठाकुरले चिन्ता व्यक्त गरिन् । अस्पतालमा देखिएका वर्षौंदेखिको समस्याहरुको पहिचान गर्न उच्चस्तरीय टोली चाँडै पठाउने समेत प्रतिवद्धता व्यक्त गरिन् ।
सोही कार्यक्रममा अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट दिलिप कुमार साहसँग अस्पतालको अवस्थाबारे उनले जानकारी लिएकी छिन् । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको प्रकोप फैलिने सम्भावना रहेको भन्दै सभापति ठाकुरले निःशुल्क उपचारको व्यवस्था मिलाउनकालागि तयार रहन निर्देशन दिईन् ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजनारायण ठाकुरले बाढी प्रभावित गाविसहरुमा जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मी पठाएका कारण महामारी फैलिनबाट जोगिएको बताए । औषधि अभाव रहेको अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदिय समितिकी सभापति ठाकुरकै विशेष पहलमा तीन दिन भित्र केन्द्रबाट औषधि पठाएको बताउँदै उनले जनस्वास्थ्य कार्यालयमा रहेका गाडीहरु पुरानो भईसकेको भन्दै नयाँ गाडीकोलागि पहल गरिदिन जनस्वास्थ्य अधिकृत ठाकुरले ध्यानाकर्षण गराए ।
सोही कार्यक्रममा जिल्लाको स्वास्थ्य समस्याबारे पत्रकारहरुले सांसद ठाकुरलाई जानकारी गराउँदै ठोस पहल गर्न समेत आग्रह गरेका छन् ।