• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा युवा सम्मेलनः युवालाई राज्यले उपेक्षा गरेको आरोप

सप्तरीमा युवा सम्मेलनः युवालाई राज्यले उपेक्षा गरेको आरोप

राजविराज, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सप्तरी जिल्लामै पहिलो पटक शुक्रवारदेखि दुई दिने सप्तरी जिल्ला युवा सम्मेलन शुरु भएको छ ।
कार्यक्रममा सहभागी अतिथि तथा सहभागी युवाहरुले हातमा मैनबत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सम्मेलनमा महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति सांसद रञ्जु ठाकुर, निवर्तमान सिंचाई मन्त्री एवम् सांसद उमेश कुमार यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जिल्ला प्रहरी कार्यालय सप्तरीका उपरीक्षक भीम प्रसाद ढकाल, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालका प्रहरी उपरीक्षक दमन थापा, मधेशी मोर्चा सप्तरीका संयोजक नरेन्द्र यादव, संघीय समाजवादी फोरमका जिल्ला सदस्य केदार यादव, युवा अभियन्ता आनन्द मिश्रा, युवा नीति निर्माण समितिका सदस्य प्रदिप परियार, युनिसेफ बिराटनगरका सञ्चार अधिकृत सुमन लामा, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सेभ द चिल्ड्रेनका अरुण मण्डल, आसमा नेपालकी राधा कोइराला, सर्च फर कमन ग्राउण्डका राजेश लोहनी, युएन ह्याबिट्याटका भूषण तुलाधर, युवा नेता दुर्गानन्द ठाकुरलगायतका अतिथिहरुले हरेक क्षेत्रमा युवा सहभागिता एवम् युवामैत्री निती नियम बनाउने तथा कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका छन् ।IMG_7279
सम्मेलन मूल समारोह आयोजक समितिका संयोजक श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अतिथि सांसद रञ्जु ठाकुरले समृद्ध राष्ट्र निर्माणमा युवाहरुको भूमिका अपरिहार्य रहेको भन्दै राज्यले समेत युवामैत्री नीति बनाउनुपर्नेमा जोड दिईन् । स्वदेशमा रोजगारीको अभावले गर्दै युवा जनशक्ति विदेश पलायन भईरहेको भन्दै सिर्जनशील कार्यमा युवाहरुलाई लगाउनुपर्नेमा उनले बताइन् ।
कार्यक्रमका अर्का अतिथि कार्यक्रममा पूर्वमन्त्री उमेश कुमार यादवले हरेक राजनीतिक परिवर्तनहरुमा युवावर्गले निभाएको भूमिकाको जति चर्चा गर्दा पनि कमै हुने बताउँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनुपर्नेमा जोड दिए । युवाको नाममा आएको रकम समेत सही ढङ्गले सदुपयोग हुन नसकेको प्रष्ट्याउँदै उनले आफ्नै गाउँ–ठाउँमा रहेर व्यवसायिक कृषि तथा पशुपालनमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।
गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्रमा सञ्चालन भएको युवा भेलामा सप्तरी जिल्लाको ९१ गाविस र चार नगरपालिकाबाट करिब २५० जना युवा प्रतिनीधिको सहभागिता रहेको छ । आ–आफ्नो क्षेत्रमा रहेका युवा सम्वन्धि समस्या तथा निदानका उपायको खोजीका विषयमा छलफल हुने आयोजक समितिले जनाएको छ । 1
सम्मेलन शुभारम्भ अघि विहान सदरमुकाम राजविराजमा प्रभातफेरीको आयोजना गरिएको थियो । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सञ्चालन हुन लागेको उक्त सम्मेलन अघि निकालिएको प्रभातफेरी पश्चात राजविराज स्थित गजेन्द्र चौकमा ५०१ ओटा बैलुन उडाएर शान्तिको कामना गरिएको थियो ।