सखडा (सप्तरी), २४ साउन । राष्ट्रिय शान्ति र मानव कल्याणको सन्देश लिएर मेची–महाकाली यात्रामा निस्केको सखडा छिन्नमस्ता शक्तिपीठको रथ संसारको सर्वोच्च शिखर सगरमाथाको अनुपम भूमि सोलु टेक्ने भएको छ ।
उदयपुरको कटारीबाट घुर्मीको यात्रामा रहेको शान्तिरथ मंगलबार घुर्मीबाट सोलुतर्फ लाग्ने जानकारी पीठाधीश महाकान्त ठाकुरले दिएका छन् । आइतबार कटारीमा रात्री विश्राम गरेको रथ सोमबार बिहान कटारीको परिक्रमा गरी घुर्मीतर्फ लागेको हो । कटारी परिक्रमाको क्रममा स्थानीय भक्तजनले सखडेश्वरी महिषमर्दिनी छिन्नमस्ताको पूजा–अर्चना गरेका थिए । उनीहरु माताको जयकार र नाचगान गर्दै रथयात्रामा सहभागी भएका थिए । तीन सयभन्दा बढी भक्तजनले माताको रथको विदाई गरेका थिए ।
राष्ट्रिय शान्ति तथा मानव कल्याणका लागि आउँदो चैत (१६–२७) मा सखडा छिन्नमस्ता शक्तिपीठमा आयोजना हुने लक्षचण्डी रुद्र महायज्ञको प्रचारार्थ गत असार ३० गते यज्ञस्थलबाट शान्तिरथ निस्केको हो । यो रथयात्रा सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, सिरहाको भ्रमणपछि सोलुतर्फ लागेको हो ।
नेपालमा पहिलो पटक हुन लागेको अत्यन्त उच्चकोटीको यो यज्ञ नेपाल र भारतका शंकराचार्य, पठिाधीश, संत, महन्तको सानिध्यमा ३५ सय वेद अध्येताद्वारा सम्पन्न गरिने छ । यसबाट मुलुकमा स्थायी शान्तिको स्थापना हुने विश्वास गरिएको छ ।