• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डा. केसी तिलाठीका बाढी पीडितको स्वास्थ्य परीक्षणमा व्यस्त

डा. केसी तिलाठीका बाढी पीडितको स्वास्थ्य परीक्षणमा व्यस्त

राजविराज, २२ साउन । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोबिन्द केसीले सप्तरीको बाढी पीडितलाई लक्षित गरी तिलाठीमा स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
डा. केसी नेतृत्वको टोलीले तिलाठी स्थित प्राथमिक विद्यालयमा शनिवारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । अति आवश्यक औषधीसहित स्वास्थ्यकर्मीको टोलीले ११ बजेदेखि शिविरमा आएका बाढी पीडितलाई जाँच तथा औषधि वितरण गरिरहेको सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले जानकारी दिए ।
उनका अनुसार चर्को घामसँगै प्रचण्ड गर्मीमा पनि डा. केसी आफैले बिरामी जाँच गरी औषधी तथा फलफूल वितरण गरिरहेका छन् । शिविरमा तिलाठीसहित अन्य गाविसका बाढी पीडितहरु उल्लेख्य संख्यामा जँचाउन आएको उनले बताए ।20160806_143421
बिरामी जाँच्ने कार्यमा व्यस्त रहेका डा. केसीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गा्रमिण भेगका जनता अझैं स्वास्थ्य सेवाबाट बञ्चित रहेकोले आफूले केही योगदान गर्न सकुँ भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । बाढीका कारण डुबानमा परेका क्षेत्रका वासिन्दाहरु एकदमै पीडित रहेको भन्दै पीडाको अवस्थामा आफू दुख शेयर गर्न आएको प्रष्ट्याए । 13923829_1101936053188598_6525182758961343285_o
राज्यका सेवाहरु सहर केन्द्रित रहेको बताउँदै उनले भने ‘पेशाले पनि म चिकित्सक हुँ, मैले बिरामीलाई सेवा दिनु धर्म हो, त्यसैले जनता हिमाल, पहाड र मधेश जुनसुकै ठाउँका होस् स्वास्थ्य सेवा पाउनुपर्छ ।’ भारतीय सिमाना पर्ने तिलाठी गाविसका बाढी पीडितलाई सेवा गर्न पाउनु आफ्नोलागि सौभाग्य भएको डा. केसीले निधार तथा नाकको पसिना पुछ्दै बताए । बाढीले गर्दा घर भत्किएको, बालीनाली डुबानमा परेको तथा खेतीयोग्य जग्गा समेत कटानमा परेको भन्दै बाढी पीडितले क्षतिपूर्ति पाउनुपर्नेमा समेत उनले जोड दिए ।
सप्तरी उद्योग वाणिज्य संघको संयोजनमा स्वास्थ्य जाँच तथा औषधि वितरण शिविरको आयोजना गरिएको हो । शिविरमा बाढी पीडित विरामीको चाप अत्यधिक रहेकोले डा. केसीले आइतवार समेत सेवा दिने सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दासले जानकारी दिएका छन् ।
यसैगरी सोही स्थलमा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको संयोजनामा सगरमाथा चौधरी आँखा अस्पताल लहानले निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको रेडक्रसकर्मीसमेत रहेका प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताए । यसैबीच तिलाठीका युवाहरुले डा. केसीलाई मिथिलाको पाग र गम्छा ओढाएर सम्मान गरेका छन् । आफूहरुको गाउँमै आएर डा. केसीले स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा आफूहरु गौरवान्वित भएको स्थानीवासिन्दा समेत रहेका पत्रकार जितेन्द्र कुमार झा जितुले बताए ।