राजविराज, २२ साउन । नौ महिनाको भ्रमण कार्यक्रम लिएर छिन्नमस्ताबाट असार ३० गते निस्केको लक्षचण्डी रुद्र महायज्ञको राष्ट्रिय शान्ति मेची–महाकाली रथ शनिवार २४ औं दिनमा सिरहा तथा माडरको भ्रमण गरी चौहर्वा पुगेको छ ।
आइतबार चौहर्वा क्षेत्रको परिक्रमा गरी मिर्चैयातर्फ लाग्ने कार्यक्रम रहेको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । सिरहा तथा माडरका सयौं भक्तजन रथयात्रामा सहभागी भएका थिए । उनीहरुले रथमा विराजमान सखडेश्वरी महिषमर्दिनी छिन्नमस्ता भगवतीको पूजा–अर्चना गरी आशीर्वाद प्राप्त गरेका थिए ।
राष्ट्रिय शान्ति तथा मानव कल्याणका लागि आगामी चैत १६ गते सखडा छिन्नमस्ता शक्तिपीठमा सुरु हुने नेपालको पहिलो श्री लक्षचण्डी रुद्र महायज्ञको सन्देश जनजनमा पु¥याउन निकालिएको रथ सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम तथा उदयपुर जिल्लाका विभिन्न मठमन्दिर तथा गाउँबस्तीमा भ्रमण पूरा गरी हाल सिरहा जिल्लाको भ्रमणमा रहेको छ । रथयात्रा व्यवस्थापनका लागि महायज्ञ मूल समितिका संयोजक सखडा पीठका पीठाधीश महाकान्त ठाकुरको संयोजक्त्वमा एक समिति रहेको छ । समितिमा महात्मा रामशरण दास, बुचन झा, सत्य नारायण मण्डल तथा जङ्गबहादुर सिंह रहेका छन् ।
यता सखडामा महायज्ञको मुख्य कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष सत्य नारायण यादवको अध्यक्षतामा बसेको बैठकले महायज्ञको सफल आयोजनका लागि सामाजिक सहकार्य गर्ने निर्णय गरेको छ । यसका लागि जिल्ला स्थित सामाजिक, धार्मिक, पेसागत, नागरिक समाज संघ–संस्थाको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।
अध्यक्ष यादवले केही दिनमै आवश्यक तयारी गरी बैठक आयोजना गर्ने निर्णय गरेको छ । बैठकले सप्तरी जिल्लाका माननीय सांसदहरुलाई कार्यकारिणी समितिमा आमन्त्रित सदस्य मनोनयन गरेको छ । बैठकले कार्यकारिणी सदस्यहरु संतोष चौधरी (संयोजक) तथा श्याम सुन्दर यादव भएको प्रचार समिति समेत गठन गरेको छ ।