राजविराज, २० साउन । सप्तरीको बाढी प्रभावित गाविसहरुमा विभिन्न संस्थाले राहत वितरण कार्यलाई निरन्तरता दिएका छन् ।
कोसी पीडित समाज सप्तरीले बाढी प्रभावित क्षेत्रमा विहीवार राहत वितरण गरेका हुन् । समाजले नुहाउने साबुन, कपडा धुने साबुन, पेन्टी, ठूलो साइजको तौलिया, सेनेटरी प्याड, तुथ पेस्ट, ब्रस, बाल्टिन, मग, पियुस, जीवनजल, बोरासमेतका सामानहरु वितरण गरिएको संस्थाका सुकदेव चौधरीले जानकारी दिए ।
उनका अनुसार समाजका निर्देशक देवनारायण यादवको नेतृत्वमा पुगेको टोलीले गोबरगाढा १५८, हनुमाननगर ७ र ईनरुवाका ६४ जना समेत गरी २ सय २९ जनालाई राहत वितरण गरिएको छ । अक्सफाम र केभीएसको सहयोगमा राहत सामग्री वितरण गरिएको चौधरीले बताए ।
यसैगरी युनाइटेड स्टेट युथ काउन्सिलका सदस्य ई. ओमकुमार साहको अगुवाईमा समेत जिल्लाको विभिन्न गाविसमा राहत वितरण गरिएको छ । उनका अनुसार आइतवार ईनरुवाको राम टोल र सदा बस्तीका ४३ परिवार, सोमवार को.बर्साइनको राम टोल र सरदार टोलका ४१, गोबरगाढा, योगिनिया, लिलजासमेतको बस्तीका २८ परिवारलाई राहत वितरण गरिएको छ ।
मङ्गलवार पर्साहीको सदा र राम बस्तीका ११० परिवार, विहीबार महदेवाका ४२ परिवारलाई पियुष, एक्वा ट्याब, कपडा र खाद्यान्न वितरण गरिएको उनले जानकारी दिएका छन् ।