वीरगञ्ज, १७ साउन । पर्साको भिखमपुर गाविसमा सञ्चालन भएको सुनौलो हजार दिनको कार्यक्रममा अनियमितता भएको आरोप लगाउदै गाबिस भिखमपुर वडा नं. ६ आसवारीका स्थानियले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका छन् ।
आसवारीका स्थानिय बबिता देवी र जोन्हि देवीले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका हुन् । पुर्नजागरण समाज नेपालद्वारा सञ्चालित सुनौलो हजार दिनको कार्यक्रममा आसवारी वडा नम्वर ६ का अभियान अध्यक्ष सवरीया देवी , सचिव बढिया देवी र कोषाध्यक्ष कलावती देवीमाथि भ्रष्टाचारको आरोप लगाउदै निवेदन दिएका छन् ।
निवेदक अनुसार गाविस भिखमपुर टोल आसवारी वडा नम्वर–६ मा सञ्चालन भएको सुनौलो हजार दिनको कार्यक्रममा पहिलो किस्तामा आएको रकम ४८ हजार पाँच सय ६४ मध्ये १७ हजार मात्र खर्च भएको, दोस्रो किस्तामा आएको रकम ८० हजार ९ सय ४१ मध्ये ७० पिस कुखुरा खरिदको करिब १४ हजार खर्च भएको, तेस्रो किस्ता ३२ हजार तीन सय ३४ रकम लाई थोरै रकम बताउने गरेको निवेदक बबिता देवीले बताईन् ।
उनका अनुसार लक्षित समुदायलाई अण्डा दिने कुखुराको सम्झौता भएता पनि अण्डा नदिने कुखुरा वितरण गरेको बताईन । साथै प्रति कुखुरा १२ सय बताउँदा समाजमा बिरोध भएपछि अधिकांसले कुखुरा फिर्ता गरेका गरेका छन् ।
अध्यक्ष र सचिवका आफन्तले निवेदक र हिसाव खोज्ने स्थानिय महिलाहरुलाई हात खुट्टा भाँचिदिने धम्की दिने गरेको स्थानिय अपसाना खातुनले बताईन् । गाविस भिखमपुर अभियानकाका कोच चन्द्रिका पटेलको समेत भ्रष्टाचारमा संलग्नता रहेको स्थानियले आरोप लगाएका छन् ।
उक्त अवसरमा महिला आयोगका पुर्व अध्यक्ष शेखचान्द तारा, नेपाल सदभावना पार्टीका महिला मञ्चकी केन्द्रीय उपाध्यक्ष मुनी श्रीवास्तव, सदभावना पार्टीका महिला नेतृ रेखा साह, भिखमपुर टोल आसवारीका बिद्यावती देवी, श्रीपती देवी, राजभरी देवी, कस्तुरी देवी, लालपरी देवी, मोटरा देवी, सोना देवी, चन्दा देवी, पुनम देवी, शकुन्तला देवी, चिन्ता देवी लगायतको उपस्थिति रहेको थियो ।