राजविराज, १७ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको माग सम्वोधन नभएसम्म सरकारमा नजाने बताएका छन् ।
राजविराजमा सोमवार प्रेस मञ्च सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो प्रतिवद्धता दोह¥याएका हुन् । मधेशको माग सम्वोधन हुन भन्दा अघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारमा जानुको औचित्य नरहने भन्दै अध्यक्ष महतोले मोर्चाको शर्त स्वीकार गरे मात्र अब बन्ने सरकारलाई समर्थन गर्ने बताए ।
सरकारले पुरा गर्न सक्ने माग निश्चित अवधीभित्र पुरा गर्ने र सरकार गठन भएपछि सिमाङ्कन लगायत संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने विषयमा उनले मोर्चासँग वार्ता गरी लिखित प्रतिवद्धता आए सरकार निर्माणमा सहयोग गर्ने प्रष्ट पारे । मोर्चाको मागप्रति बेवास्ता गरिए सरकारलाई दिएको समर्थन फिर्ता लिएर मोर्चा आन्दोलनमा जानुको विकल्प नरहने बताउँदै सद्भावना अध्यक्ष महतोले भने ‘मधेशको माग सम्वोधन नभएसम्म हामी सरकारमा जाने कुरै आउँदैन, मोर्चाको माग बेवास्ता गरिए सरकारको समर्थन पनि हुन्छ ।’
स्थानीय निकाय पुर्नसंरचना आयोग मधेशमा गाउँपालिकाको नाममा प्रतिनीधित्व संख्या घटाउने षडयन्त्र भईरहेकोले आयोगको काम कार्वाही तत्काल बन्द गर्नुपर्नेमा उनले जोड दिए । गाउँपालिका सम्वन्धि आयोग मधेशी जनताकालागि हितकर नभएकोले यसको कडा विरोध गर्न समेत उनले आह्वान गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध महाअभियोग लगाउनुपर्ने माग राख्दै विरोधमा उत्रिएका डा. गोविन्द केसीको माग प्रति सोधिएको प्रश्नमा अध्यक्ष महतोले लोकतन्त्रमा विरोध गर्ने, माग गर्ने स्वतन्त्रता हुने भएकोले यो विषयमा उचित वा अनुचित संसदले निर्णय गर्ने भएको बताए । सोही पत्रकार सम्मेलनमा अध्यक्ष महतोले बाढी पीडितहरुकालागि राज्यपक्षले अविलम्व भरपर्दो राहतको व्यवस्था मिलाउन माग गरेका छन् ।