राजविराज, ९ साउन । सप्तरी जिल्लामा बढ्दो बाल विवाहलाई अन्त्य गर्नकालागि धर्मगुरुहरुले आइतवार एक कार्यक्रमका बीच सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।
निरन नेपालद्वारा राजविराजमा आयोजित कार्यक्रममा उनीहरुले बाल विवाह अन्त्य गर्न आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । अब उप्रान्त कुनै पनि बाल विवाहमा सहभागी नहुने तथा कुनै ठाउँमा बाल विवाह भइरहेको सूचना प्राप्त भएमा त्यस विरुद्ध सशक्त रुपमा कदम चाल्ने भन्दै उनीहरुले सामुहिक रुपमा बाचा गरे ।
धार्मिक प्रवचन, प्रार्थानालगायतका धार्मिक अनुष्ठानहरुमा समेत बालविवाह रोक्नकालागि सन्देश प्रवाह गर्ने सहभागी धर्मगुरुहरुले बताए । कुनै पनि धार्मिक ग्रन्थले बाल विवाहलाई प्रश्रय नदिएको प्रष्ट पार्दै भविष्यका कर्णधार मानिने बालबालिकाहरुको विवाह रोक्न अभियान जस्तै आफूहरुले भूमिका निर्वाह गर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रमकी प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठले सप्तरी जिल्लामा बालविवाहको अवस्था भयावह रहेकोले सामाजिक स्तरबाटै ठोस कदम चाल्नुपर्ने आवश्कता औंल्याईन् । हरेक विवाहमा आ–आफ्ना धर्म गुरुहरुको सहभागिता रहने गरेकोले गुरुहरुले यस्ता विवाहलाई रोक्नुपर्नेमा जोड दिँदै भनिन् ‘बीस वर्ष नपुगिकन बाल विवाह भईरहेको छ भने यस कार्यलाई तत्काल रोक्नु जरुरी छ ।’
अन्तर धार्मिक सञ्जालका बद्रीनारायण झा ‘बिप्र’को अध्यक्षतामा आयोजित कार्यक्रममा आयोजक संस्थाकी कार्यक्रम संयोजक नाहिदा बानो, बाहई धर्मका नरेन्द्र पाण्डे, युएनएफपीएकी सुजाता सुब्बा, युनिसेफ बिराटनगरका सुन्दर लामा, जिल्ला संयोजक अशोक झा, धर्मोदय सभाका महेश कुमार चौधरी, मदर्शाका प्रिन्सिपल अलाउद्दीन, ईस्लाम संघ नेपालका शकुर रहमान, संघका सगरमाथा अञ्चल सेक्रेट्री सबनम खातुन, बम्हाकुमारी राजयोग सेवा केन्द्रकी रमिला दिदी, बम्हकुमार बालकृष्ण साह, लक्ष्मीनारायण राधाकृष्ण मन्दिरका पुजारी रत्नेश्वर झा, अमरकान्त झा, रमेश राम, महिला नेतृहरु गीता यादव, सुनिता साह, रमिला साहलगायतले बाल विवाह अन्त्य गर्नकालागि आ–आफ्नो स्थानबाट सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अभियानका जिल्ला संयोजक युसुफ अलिले स्वागत मन्तव्य व्यक्त गरे ।क