काठमाण्डौ, ६ असार । पर्साको वीरगञ्जबाट विगत ३२ वर्षदेखि निरन्तर प्रकाशित हु“दै आएको उत्थान साप्ताहिक पत्रिकाका सम्पादक विन्दु पाण्डेको निधन भएको छ ।
लामो समयदेखि मुटुरोगबाट ग्रसित सम्पादक पाण्डे दुई हप्ता अघि सिकिस्त भई उपचारकोलागि राजधानीस्थित वीर हस्पिटलमा उपचारार्थ भर्ना गरिएकोमा आइतवार विहान ५ बजे निधन भएको उत्थान साप्ताहिकका प्रधानसम्पादक समेत रहेका उनका पति सुदर्शनराज पाण्डेले जानकारी दिए ।
हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने कुरा प्रधानसम्पादक पाण्डेले बताए । स्व. सम्पादक बिन्दुका एक छोरा र एक छोरी रहेका छन् ।
यसैबीच क्राइमचेक साप्ताहिक परिवारकातर्फबाट प्रधानसम्पादक सन्तोष मिश्रले सम्पादक पाण्डेको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । उनको असामयिक निधनप्रति रिपोटर्स क्लव नेपाल पर्साका अध्यक्ष एवं मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ताले एक विज्ञप्ती जारी गर्दै गहिरो समवेदना प्रकट गरेका छन् ।
संयोजक गुप्ताद्वारा हस्ताक्षरित सो शोक विज्ञप्तीमा रिपोटर्स क्लव नेपालका वरिष्ठ सल्लाहकार समेत रहेका सुदर्शनराज पाण्डेकी पत्नी विन्दु पाण्डेको निधनले रिपोटर्स क्लव नेपाल शोकाकुल भएको यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति मिलोस् र मृतकको आत्मालाई चीर शान्तिको कामना गरिएको छ ।