राजविराज, ४ असार । नेपाली काँग्रेसका नेता अर्जुन केसीले मधेशको माँग सम्बोधन गर्नकालागि काँग्रेसले नै अगुवाई गर्नुपर्ने कुरा बताएका छन् ।
शनिबार सप्तरीको अर्नाहामा नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मधेशको माँगकै सन्दर्भमा दुई–दुई पटक संविधान संशोधन भइसकेको छ’ उनले भने ‘नसमेटिएका कुरा रहेछन् भने तिनलाई पनि समेट्न संविधान संशोधन गर्न सकिन्छ ।’
वर्तमान सरकारको छवी अन्तराष्ट्रिय जगतमा पनि विग्रेको टिप्पणीका साथ नेता केशीले यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार कुनैपनि हालतमा मान्न काँग्रेस तयार नहुने स्पस्ट पारे । उनले भने ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव कुराको समेत आश्वासन बाँड्ने गरेका छन्, आश्वासनको भरमा मात्र मुलुकको समस्या समाधान हुन सक्दैन ।’ 
मुलुकका ठूल–ठूला आन्दोलनहरु काँग्रेसकै अगुवाईमा सफल भएको भन्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका केशीले अहिले पनि मुलुकको अवस्था विग्रेको वेलामा काँग्रेस चुप लागेर बस्न मिल्दैन । मुलुकको समस्या समाधानमा काँग्रेसले रचनात्मक सहयोग गर्नबाट आफूलाई कहिल्यै पछि नराख्ने बताउँदै उनले भने ‘तर, यो सरकार रहुञ्जेल समस्या समाधान होइन, अझै बढेर जाने निश्चित छ ।’ उनले एमाले नेतृत्वको सरकारले राज्यको ढुकुटी रित्याएर कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप समेत लगाए ।
उनले भने ‘अब सरकार परिवर्तनको नेतृत्वपनि काँग्रेसले नै गर्नुपर्ने वेला आइसकेको छ ।’ नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का सभापति रामप्रसाद मण्डलको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।