राजविराज, ४ असार । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ४ का यसवन्त सिंहलाई सप्तरी प्रहरीले मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ गरेको छ ।
बथनाहा गाविस वडा नम्वर–३ कि ३१ वर्षिया ममता कुमारी यादवलाई भारतको दरभङ्गा लगेर बेचबिखन गरेको जाहेरी दर्खास्तको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । महेन्द्र प्रसाद सिंहको ४७ वर्षिय छोरा सिंहले २०७१ फागुन ३ गते सप्तरीको बथनाहा ममता कुमारी यादवलाई जिल्ला भारतको दरभङ्गामा लगेर बेचबिखन गरेको भन्ने २०७१ फागुन २५ गतेको जाहेरी दरखास्त पुनरावेदन अदालतमा परेको थियो । उक्त जाहेरी दर्खास्ता दर्ता गरी प्रक्रिया अगाडि बढाउने आदेश दिए बमोजिम मानव बेचविखन तथा ओसारपसार सम्वन्धि मुद्दामा शनिवार प्रतिवादी सिंहलाई पक्राउ गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका सिंह र उनकी पत्नी समेतले केही महिना अघि पत्रकार विष्णुकुमार मण्डलको घरको पर्खाल जबरजस्ती भत्काएका थिए । आफ्नो निजी पर्खाल किन भत्काउन लागेको भनी सोध्न जाँदा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष मण्डललाई इँटको टुक्राले टाउँकामा हिर्काएर घाइते बनाएका थिए । पैरबी र पहुँचका कारण उनी र उनका पत्नीलाई प्रहरीले कार्वाही गर्न आनाकानी गर्दैआएका थिए ।
पक्राउ परेका सिंह नेपाल सदभावना पार्टीका संस्थापक एवम् मधेशका मसिहा स्व. गजेन्द्रनारायण सिंहका भतिजो हुन् । तत्कालिन समयमा गजेन्द्रनारायणले स्थापना गरेको क्रान्ति भवनको संरचना समेत उनले भत्काउन लगाएर एक निजी विद्यालयलाई भाडामा दिएको छ । मधेशका मसिहा सिंहको समाधिस्थलसम्म आवत–जावत गर्न तथा तस्विर खिंच्न पत्रकारहरुलाई समेत बन्देज लगाएका थिए ।