पर्सा, ४ असार । अमेरिकाको साउथ लुजियाना कम्युनिटि कलेजका प्राध्यापक विश्वराज अधिकारीको कथा सङ्ग्रह रानीघाट पुस्तकको शनिवार वीरगञ्जमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
सर्लाहीको छतैनिमा जन्मिएका प्राध्यापक अधिकारी उच्च शिक्षाकोलागि वीरगञ्जको रानिघाटमा बसेर ठाकुरराम बहुमुखि क्यामपसमा अध्ययन गरेका थिए । अमेरिकामा बसेर रानिघाटकै परिवेश बनाएर कथासङ्ग्रह निर्माण गरेका थिए । मधेशकै परिवेश चित्रण गर्न खोजिएको कथा सङग्रह रानिघाट पुस्तकको विमोचन एभिन्यूज टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख राजु श्रेष्ठले गरे ।
पुस्तकको विमोचन गर्दै ब्यूरो प्रमुख श्रेष्ठले अमेरिकामा अध्ययनको क्रममा पनि वीरगञ्जको परिचय अझै किताब मार्फत देश विदेशमा चिनाउन खोजिएको योगदानको प्रसंशा गर्दै शुभकामना मन्तव्य व्यक्त गरे । पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले देशको माया सबैलाई हुनेहुँदा एउटा सानो ठाउँलाई पनि विर्सन नसकेर विगत र वर्तमानका साथै मधेशी समाजकै चित्रण गरि कोरिएको पुस्तक निकै राम्रो र अरु देशभरिकै सहित्यप्रेमीकोलागि प्रेरणादायी हुने बताए ।
अमेरिकामा बजारशास्त्रको प्राध्यापक भई अध्यापन गराई राखेका अधिकारीको विश्व गीता, अन्तिम निर्णय, मिसिसिपीको किनार, मधुर मिलन, अभिनय, बहलिया सूर्य, आई वाज रोंङ्ग लगायत त्रिभिवन विश्वविधालयको पाठ्यक्रममा आधारित रहेका व्यवस्थापन र बजारशास्त्रका करिब एक दर्जन पुस्तक प्रकाशित भईसकेका छन् ।
कार्यक्रममा पुर्व सभासद् शोभाकर पराजुलि, पत्रकार महेश चन्द्र गौतम, मयामितु न्यौपाने लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रमको सहजिकरण मधेश मामिलाका स्तम्भकार पत्रकार चन्द्रकिशोर झाले गरे ।