• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कागजमा सप्तरी साक्षर भए पनि ग्रामिण भेगमा अधिकांश औंठाछाप

कागजमा सप्तरी साक्षर भए पनि ग्रामिण भेगमा अधिकांश औंठाछाप

राजविराज, ३ असार । एक वर्ष अघि सप्तरी जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरियो । तर ग्रामिण भेगका अधिकांस निरक्षर अझैं साक्षर हुन सकेको छैन । उनीहरुलाई हस्ताक्षर गर्ने बेलामा औंठा छाप लगाउनुपर्ने बाध्यता छ ।

जिल्लाका एक लाख २ सय ४३ निरक्षरलाई साक्षर तुल्याउने उद्देश्यका साथ दुई वर्ष अघि सञ्चालन गरेको थियो । जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लाका हरेक वडामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका कारण जिल्लामा अधिकांश प्रौढहरु साक्षर हुन सकेको छैन ।
जिल्लाको विभिन्न गाविसहरुमा सञ्चालित ‘सुनौला हजार दिन’ कार्यक्रमको अभिमुखिकरण कक्षाका सहभागी अधिकांश महिलाहरुले औंठा छाप अर्थात ल्याप्चे लगाउने गरेका छन् । ढिलो गरी कक्षा सुरु भएकोले वर्षा शुरु भएपछि कक्षा छाडेर खेतीपातीमा लागेको सुनरवती देवी खङ्गले बताईन् । उनले भनिन्–‘कक्षा चल्दै गर्दा वर्षा लाग्यो, खेतीपातीमा लागियो, तीन महिनासम्म कक्षा समेत चलेन ।’
फागुनको पहिलो साताबाटै कक्षा सुरु हुनुपर्नेमा वैशाख–जेठमा कक्षा सञ्चालन भएकोले पुरा समय कक्षा सञ्चालन हुन सकेन । निरक्षरहरुको तथ्यांक संकलन त्रुटीपुर्ण रहेको र ढिलो गरी कार्यक्रम सुरु भएको कारणले लक्षित समुहले कार्यक्रमवाट फाईदा लिन नसकेको साक्षरता अभियानमा खटेकाहरुको स्वीकारोक्ति छ ।
सघन साक्षरता कार्यक्रम सञ्चालन हुनुभन्दा १ वर्ष अघि समेत राजविराज नगरपालिका र १९ ओटा गाविसमा साक्षरता अभियान सञ्चालन गरिएको थियो । त्यसै समयमा मलेठ गाविसमा रहेका ९ सय ७४ निरक्षर सबैलाई साक्षर बनाएर पूर्ण साक्षर गाविस घोषणा गरिएको थियो । तर सोही गाविसमा एक वर्षपछि सङ्कलन गरिएको तथ्याङ्कमा एक हजार ३ सय १२ निरक्षर पाईएको थियो ।
सोही बनौला गाविसमा ६ सय ५१ जना निरक्षर रहेको तथ्याङ्क संकलन गरिएकोमा पछि पुनः तथ्यांक लिँदा ९ सय ६१ जना निरक्षर भेटिएको थियो । सघन साक्षरता कार्यक्रम सञ्चालन भईसकेका अन्य गाविसमा पनि तथ्यांक सङ्कलनका क्रममा ठूलो संख्यामा निरक्षर भेटिएको शिक्षा कार्यालयले जनाएको थियो । पछिल्लो पटक दुई वर्षअघि सुरु भएको कार्यक्रम पनि हचुवा तरिकाले सञ्चालन गरिएका कारण कार्यक्रमको लक्ष्य प्राप्ति हुन सकेन ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले पनि सघन साक्षरता कार्यक्रम पुर्ण रुपमा सफल हुन नसकेको स्वीकार गर्दै थप कार्यक्रम आवश्यक रहेको बताए । तत्कालिन शिक्षा मन्त्री चित्रलेखा यादवले २०७१ माघ १८ गते एक समारोहका विच सप्तरीमा ३ महिने सघन साक्षरता कार्यक्रम उद्घाटन गर्दै सन २०१५ भित्र सप्तरीलाई पुर्ण साक्षर बनाउने घोषणा गरेकी थिईन् ।