राजविराज, स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. चन्द्रकान्त राउत (सीके) चढेको बोलेरो भ्यान विहीवार साँझ दुर्घटना भएको छ ।
करिब चार बजेको समयमा बाराको बनगढी पुल नजिक पथलैयातिरबाट आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो । परिवारजनसहित डा. राउत चढेको उक्त स्कारपियो गाडी सडकभन्दा तल खसे पनि ठूलो दुर्घटनाबाट जोगिएको स्वतन्त्र मधेश गठबन्धनले जनाएको छ ।
उनी परिवारजनका साथ सकुशल जनकपुर स्थितको निवास पुगिसकेको कुरा डा. राउतले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् । अगाडिको गाडी एक्कासी रोकिँदा ठोक्किनबाट जोगाउन साइड कटाउने क्रममा गाडी दुर्घटनाग्रस्त भएको थियो ।
बाराको बरियारपुर स्थित गढीमाईको मन्दिरमा पूजा–आजा गर्न स–परिवार गएका थिए ं। सुरक्षा व्यवस्थाकालागि बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय समेतलाई आफूहरु स–परिवार आउने कार्यक्रम र समयको विषयमा अवगत गराईए पनि सुरक्षा उपलब्ध नगराएको उनले पेजमा उल्लेख गरेका छन् । स्थानीय केही साथीहरुको सहयोगमा दुर्घटनास्थलबाट घरसम्म पुग्न सफल भएको जनाईएको छ ं।